“कस्तुरीले आफ्नै विनाको चाल नपाएझैं छ हामी नेपालीको हाल “

0

पृष्टभूमि
२८ असार ०२८ मा जन्मिएका हुन्, शिवप्रसाद लामिछाने । माता होमकुमारी लामिछाने र पिता कृष्णप्रसाद लामिछानेको कोखबाट साविकको रसुवा, लहरेपौवा–१, बेत्रावतीमा जन्मिएका शिवप्रसाद पर्यटन व्यवसायमा लामो समयदेखि कार्यरत छन् । सात जना दाजुभाइ मध्ये साहिला उनी अनेक दुःख ज्यालो गरि अध्ययन गरे । संयुक्त परिवार भएका हुनाले उत्पादन गरेको अन्नले एक वर्ष खान पुग्दैनथ्यो । ०४३ सालमा कक्षा सातमा अध्ययनरत छँदा पिताको देहावशान भयो । घर अड्याउने मूल खाबो नै ढलेपछि झन् आर्थिक स्थितिले थिच्यो । गरिबीले परिवारलाई थिच्दै उनले पनि सानैदेखि कडा मेहनत र परिश्रम गर्नुपर्यो । गाँउघरको मेलापात, अर्मपर्म गरेर अध्ययनलाई निरन्तरता दिए । अध्ययनको भोक नभएको भए उनले त्यतिबेलै पढाइलाई बिट मार्थे । ०४६ सालमा एस.एल.सी (हाल एसइई) अर्थात् फलामे ढोका पार गरेसँगै उनले भविष्यमा केही गर्ने अठोट कसेर काठमाडौं बत्तिए । त्यसपछि सुरु भयो संघर्षको लामो यात्रा । पर्यटन क्षेत्रमै होमिएर आफ्नो अलग पहिचान बनाउन सफल लामिछाने लामो समयसम्म ग्रामीण पर्यटन विकास मञ्च भिटोफको अध्यक्षको जिम्मेवारी समेत पूरा गरिसकेका र नेपालको पर्यटन क्षेत्रसँग लामो समयदेखि लुकामारी खेलेका लामिछानेलाई हाम्रा सहकर्मी महेश्वर गजुरेलको पहिलो प्रश्न थियो–

लामो समयदेखि पर्यटन व्यवसायमा आबद्ध हुनुहुन्छ । भौतिक पूर्वाधारको विकास शून्यझैँ रहेको अवस्थामा पनि नेपालमा विदेशी पर्यटकहरु भित्रनुका कारणहरु के के हुन् ? 
प्राकृतिक सौन्दर्यको खानी हो, नेपाल । जहाँ विविध जातजाती, भाषा, धर्म र संस्कृतिको साझा फूलबारीले ढकमक्क ढाकिएका छन् । यहाँको मनोरम हिमश्रृङ्खला, तालतलैया, हरिया वनजङ्गल, खोलानालाले कस्को मन नभोल्याउँला र ! हिमाल, पहाड र तराइको भू–बनोटले नेपालीको पहिचान विश्वसामू परिचित छ । यहिँ विशेषताले गर्दा नेपालमा विदेशी पर्यटकहरुका गन्तव्य नेपाल बन्न पुगेको छ । विश्वका लोकप्रिय र विश्वचर्चित खेलहरु जस्तैः बञ्जि जम्प, ¥याफ्टिङ, प्याराग्लाइडिङ, लगायतका खेलहरु नेपालमा अति उपयुक्त मानिन्छ । यसकारण यहाँको हर प्राकृतिक दृश्यले विदेशी पर्यटकलाई नरमाउने र अलमल्याउन नसक्ने कुन त्यस्तो चिज होला । सगरमाथाको देश नेपाल एकपटक टेक्नकै लागि भए पनि विदेशी पर्यटकहरु नेपाल भ्रमणका लागि हुरुक्कै हुन्छन् । यद्यपि, उनीहरु आफँै भन्ने गर्दछन्, युरोपियन मुलुकको तुलनामा नेपाल प्राकृतिक रुपले भरिपूर्ण रहेको छ । तर, विडम्बना हाम्रो हालत भने कस्तुरीले आफ्नै विनाको चाल नपाएझैं हामीले नेपाललाई अर्झैँ विश्वसामू चिनाउन सकिइरहेका छैनौँ ।
छिरे ।


० पर्यटन व्यवसायमा कहिले र कसरी पाइला अघि बढ्यो ?
पर्यटन व्यवसायमा आउनुपूर्व (सन् १९९२) मैले होटलमा काम गरे । छ वर्षसम्म । त्यसपछि मलाई पर्यटन क्षेत्रले चुम्बकझैँ तान्यो र यता मोडिए । हुन होटलको क्षेत्र  आफैं  पनि पर्यटन क्षेत्र नै थियो ।
० पर्यटन व्यवसायमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
सानो छँदा रसुवाको बेत्रावतीमा विदेशीहरूको घुइँचो लाग्थ्यो । विदेशीहरु खोलाको बगरमा पाल (टेन्ट) टाँगेर सुत्थे÷बस्थे । हिमालेझैँ गोरो शरीर, स्वच्छ लवाई खवाई । अंग्रेजीको बोलेको सुन्दा म छक्क पर्थे, यो कुन भाषा होला । त्यतिबेलादेखि नै मलाई यो पेशामा होमिने जोश चल्यो । गाउँका केही दाजुभाइहरु पनि विदेशीसँग अंग्रेजीमा बोल्थे । त्यसरी विदेशीसँग बोल्ने गाइड र पोर्टर रहेछन् । पछि थाहा पाए । किनकि हो कि त्यतिबेलादेखि नै एस.एल.सी. उत्तीर्ण गरेपछि गाईड बन्छु भन्ने लक्ष्य लिए ।


० प्रसंगतिर जाऔँ, सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । सन् २०१९ को लक्षण हेर्दा सरकारको सपनामा तुषारापात लाग्न सक्दैन भन्न सकिँदैन । यस विषयमा केही विश्लेषण गरिदिनुहुन्थ्यो कि ?
हो, सन् २०१९ को लक्षण हेर्दा त सन् २०२० मा टाउकै गने पनि १५ लाखभन्दा बढी पर्यटक देखिँदैन । तर, पनि ती जम्मै चुनौतीलाई पर धकेलेर सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजना ल्याउने सपना सकारात्मक विषयमात्र नभएर विश्वमा नै नेपालको नयाँ पहिचान दिनु हो । मात्रात्मक तवरले अहिले संख्या अपुग हुन्छ भनेर भनिए पनि यो अभियानलाई विश्वसामू व्यापक प्रचार–प्रसार गरिएको अवस्थामा सजिलै तार्गेट पूरा गर्न सकिन्छ । यसका लागि सरकारले तलदेखि माथिसम्मका सबै प्रक्रियायहरु तन्दुरुस्त बनाउनुपर्छ । जस्तैः नेपाल भ्रमण वर्ष सफल पार्ने हो भने सवैभन्दा पहिले फेक रेस्क्युजस्ता गलत गतिविधि रोक्नुप¥यो । विश्वभर यो सन्देश फैलाउन सकियो र प्रत्येक विदेशी पर्यटकको बीमाको ग्यारेन्टी सरकारले गरेको अवस्थामा पर्यटक भित्र्याउन सकिँदैन भन्ने ठाउँ नै छैन । यसका साथै, सरकारले गुणस्तरीय पर्यटक नेपालमा भित्र्याउन पहल गर्नुपर्दछ । खाली सस्तोमा पर्यटक नेपाल ल्याएर मात्र राज्यलाई केहि फाईदा पुग्दैन । जति पर्यटक आएपनि राज्यले पर्यटनबाट केहि पनि लाभ नपाउने अवस्था हुन्छ । यद्यपि, कूल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान वढाउने ढंगले पनि सोच्नुपर्छ । यसका लागि गतिलो संयन्त्र भनेकै विश्वासीलो प्रचारप्रसार हो ।


० अन्य क्षेत्रभन्दा रसुवामा पर्यटन व्यवसायको सम्भावना र चुनौतीहरू के के छन् ?
रसुवा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण रहेको छ । यहाँ पर्यटकीय उद्गम स्थलहरू मनग्ये छन् । जुन औँलामा भाँचेर गन्न मुस्किल पर्दछ । जस्तैः लाङटाङ, गोसाइँकुण्ड जस्ता स्थलहरू त तेस्रो पर्यटकीय गन्तव्यको रूपमा पनि विश्वमाझ परिचित छन् । त्यस्तै, यहाँको तामाङ ‘हेरिटेज ट्रेल’ विकासोन्मूख स्थलको रूपमा रहेको छ । पैरेबेशी, मैलुङ, हाकु हुँदै तामाङ हेरिटेज ट्रेल निस्कने बाटो र स्याउबारी हुँदै यार्सा, सरमथलीबाट नुवाकोटको चोकदे वा रसुवाकै बेत्रावती निस्कने बाटो पर्यटकीय क्षेत्रअन्तर्गत पर्दछन् । यद्यपि, यस्ता पर्यटकीय स्थलहरु रसुवामा कति छन् भनेर नवीनतम खोज गर्ने हो भने संख्यामा थुप्रै वृद्धि हुन्छ ।
रसुवा पर्यटकीय दृष्टिले वर्णन गरि साध्न नभएपनि यहाँ उत्तिकै चुनौती पनि छन् । त्यस्तै, सम्भावना पनि । पर्यटन क्षेत्रले रसुवालाई विश्वसामू चिनाइरहँदा पनि अझैँ यहाँको पर्यटन व्यवसाय व्यवसायिक हुन सकेको छैन । यो नै पहिलो कठीन र दुःखद पाटो हो । यहाँका व्यवसायीहरुलाई व्यवसायिक रूप दिन सकिएको छैन । पर्यटन व्यवसायलाई विविधिकरण गर्न नसक्नु पनि अर्काे महाचुनौतीझैँ भएको छ । यद्यपि, शिक्षित र योग्य जनशक्ति कम हुनु नै यहाँका चुनौतीहरू हुन् । त्यस्तै, भौतिक पूर्वाधारको कुरा गर्दा, यातायातको चुनौती प्रमुख हो । पोखरा वा अन्य स्थानमा जस्तो एक सय रूपैंयाँ बढी लिएर भएपनि पर्यटकको बसयात्रा सरल गराउन सकिएको छैन । भौतिक पूर्वाधारको क्षेत्र मजबुत बनाएर एक दिन भए पनि रसुवामा टिकाउन सकिएको खण्डमा रसुवाको नाम विश्वसामू बेग्लै किसीमले चिनिने थियो । यो फाईदा केवल रसुवाका लागि मात्र नभएर मुलुककै लागि हुने थियो ।

० जाँदाजाँदै….केही भन्न चाहनुहुन्छ ?

पहिलो कुरा त, रसुवाको पर्यटन व्यवसायमा लाग्नुभएका सम्पूर्ण व्यवसायीहरूलाई व्यवसायिक हुन आग्रह गर्दछु । जब हामी आफैँ व्यवसायिक भइन्छ तब मात्र पर्यटनले काँचुली फेर्दछ । सरकारले मुलुकको समृद्धिका लागि ल्याएको नारा अर्थात्, पर्यटन वर्ष २०२० को लक्ष्यलाई केन्द्रविन्दूमा राखेर हामीले हाम्रो क्षेत्रबाट सहयोग गर्नुपर्दछ । यो सरकारको सपनासँग रसुवाको जनताको समृद्धि र विकास पनि जोडिएको छ ।

Leave a Reply