किरण भट्टचन भन्छन्– “आल्मुनियमले वातावरण जोगाएको छ”

0

पछिल्लो समय घर तथा व्यवसायीक भवनहरु निर्माणमा काठको सट्टा आल्मुनियमको प्रयोग बढ्दो छ । विस्तारै काठका सामाग्रीका ठाउँमा आल्मुनियमले राज गर्दै गएको पनि प्रष्टिन्छ । व्यवसायीहरुका अनुसार झ्याल, ढोकामा काठको विकल्पको रुपमा आल्मुनियम र युपिभिसीका समाग्रीहरुको प्रयोग बढेको पाइन्छ । विश्व प्रविधिले खुम्चदै गएको अवस्थामा आम मानिसले पनि समयअनुसारको सामाग्री उपभोग गर्न रुचाउनु पनि अर्काे पाटो हो । त्यसो त व्यवसायीहरुका लागि पनि नयाँ व्यापार अर्थात् युगअनुसारको व्यापार थालनी पनि हो । यसरी युगअनुसारको व्यापारमा एस.बी.प्रा.लि.का प्रोपाइटर किरण भट्टचनले पनि लामो समयसम्म काठको काम गरे । काठको काम गर्दै उनी पनि समयअनुसार आल्मुुनियम र यूपिभिसी व्यवसाय रोजे । हाल उपभोक्ताको मागलाई मध्यनजर गरेर व्यवसायी गरिरहेका उनै भट्टचनसँग उद्यमी सहकर्मी महेश गजुरेलले कुराकानी गरेका छन् :

किरण भट्टचन, प्रोपाइट, एस.बी.प्रा.लि.

काठका सामाग्रीलाई छाडेर यस व्यवसायतर्फ मोडिनुका कारण ?

जे कुरा पनि समयअनुसार परिवर्तन हुन्छन् । हामी पनि समयअनुसार सही ढंगले परिवर्तन हुनुपर्दछ । त्यसैले यो पनि समयअनुसारको माग हो भन्नुपर्ला ।

अब, के समयअनुसार काठको सामाग्रीको जमाना विस्तारै खुम्चिदै गएको हो ?

त्यसरी नै भन्न मिल्दैन । काठका सामाग्रीहरुको जमाना त रहिरहन्छ नै तर, समयअनुसार काठको विकल्पमा अर्काे दीगो र छरितो सामाग्री उत्पादन हुनु हामी सबैका लागि सौभाग्य जस्तो पनि हो । हाल उपभोक्ताहरुको मागअनुसार घर तथा अफिस पार्टेसनमा काठभन्दा आल्मुनियम र यूपिभिसीका सामाग्रीहरुको माग बढ्दो छ । मुख्यतः काठको सामाग्रीभन्दा सस्तो, दिगो, आकर्षक, घाम पानीमा पनि नफुट्ने, रङग पनि लगाउनु नपर्ने, हलुका, काठझैँ धमिरा नलाग्ने कारण नै यसतर्फ आकर्षण बढ्नु हो । अर्कातर्फ काठको खर्चभन्दा ४० प्रतिशत खर्च बचत हुन्छ । मुख्यतः आल्मुनियम सामाग्रीको प्रयोगले ग्रिन सिटी र क्लिन सिटीमा मद्धत पुर्याउनु नै यसको प्रमुख कारण हो ।

नेपालमा कस्ता गुणस्तरका आल्मुनियम भित्रन्छन् ? स्पष्ट पारिदिनुस् न,

अन्तर्राष्ट्रिय बजारमा कम्तिमा एक दशमलब दुई एम.एम.भन्दा कम थिक्नेस् (मोटाई) भएको आल्मुनियम प्रोफाइल प्रयोग गर्न निषेध छ । तर, नेपालमा त्यो स्टान्डर्डको पालना भएको छैन । यस सम्बन्धमा सरकार बेखबर जस्तो देखिन्छ । यद्यपि, नेपालमा भित्रिने र प्रयोग हुने एक दशमलब दुई एम.एम. थिक्नेसका आल्मुनियम प्रोफाइलहरु नै हुन् । तर, यदाकदा केही व्यापारीहरुले त्यो भन्दा कम गुणस्तरका आल्मुनियम प्रोफाइल पनि भित्र्याउने गरेको पाइन्छ । यस्ता कम गुणस्तरका सामाग्री उपभोक्तालाई जर्बजस्तीझैँ खरिद गराउँदा घर लगायतका भौतिक संरचनामा ठूलो असर पर्दछ । यसकारण यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुर छ ।

अब, उपभोक्ताले गुणस्तरीय आल्मुनियमका सामाग्रीहरु कसरी छान्ने ?

यस विषयमा मैले माथि पनि भनिसकेको छु । सबैभन्दा पहिले त व्यसायीले गुणस्तरमूलक सामाग्री बेच्नु पर्दछ भने उपभोक्ता पनि सचेत रहनुपर्छ । त्यस्तै, नेपाल गुणस्तर तथा नापतौल बिभागले अहिले सम्म यस विषयमा कुनै प्रकारको मापदन्ड नतोक्नाले उपभोक्तालाई मार परेको देखिन्छ । यद्यपि, उपभोक्ताले एक दशमलब दुई एम.एम. थिक्नेसका आल्मुनियम हो कि होइन भनेर यस्ता सामाग्रीहरु खरिद गर्नुपर्छ ।

यस क्षेत्रमा व्यवसायीरूबीच प्रतिस्पर्धा कस्तो खालको देख्नु हुन्छ ?

जुनसुकै व्यवसायमा प्रतिस्पर्धा हुनु स्वभाविक नै हो । यस क्षेत्रमा कुृरा गर्नुभन्दा गुणस्तरीय आल्मुनियमका सामग्रीभन्दा पनि मूल्यमा बढि प्रतिस्पर्धा भइरहेको देखिन्छ । ग्राहकले पनि गुणस्तरीय सामानभन्दा पनि कम मूल्यलाई महत्व दिनाले पनि केही समस्याहरु उत्पन्न भएको देखिन्छ । विशेषतः स्थानीयस्तरमा काम गर्ने साना लगानीकर्ताले कम गुणस्तरका सामग्री प्रयोग गर्नु हो । जसका कारण ठूला कम्पनीहरूलाई गाह्रो परिरहेको छ । अर्को समस्या, आल्मुनियमसम्बन्धि व्यवसायिक ज्ञानको कमी ।

आल्मुनियमको प्रयोग कुन कुन क्षेत्रमा बढ्दै गएको छ ?

विशेषगरी ठुला–ठुला कर्पोरेट हाउस, डिपार्टमेन्टल स्टोर, बिज्नेस कम्पेक्स, स्कुल, कलेज, बैंकहरुमा यसको प्रयोग बढिरहेको छ । यसका साथै सर्वसाधारणहरुको घरहरुमा पनि आल्मुनियमको प्रयोग बढ्दै गएको छ । घरका भित्री भागहरुमा अफिस, पसल वा कोठाहरुको पार्टेसन गर्न पनि आल्मुनियम उपयोगी हुने भएकोले यसको माग बढ्दो छ ।

आल्मुनियम क्षेत्रको मुख्य समस्या एवं चुनौतीहरुचाहिँ के—के हुन् ?

यस क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको व्यवसायीहरुबीचको तीव्र अस्वस्थ प्रतिस्पर्धा नै हो । जसले गर्दा गुणस्तरिय सेवामा पनि प्रभावित गरिहेको छ । र, उपभोक्ता त्यसको मारमा परिरहेका छन् । यस सँगै दक्ष जनशक्तिको अभाव छ भने यस क्षेत्रमा केही दक्षता हासिल गरिसकेपछि विदेशीने प्रवृत्ति बढ्दो छ ।

जाँदाजाँदै, आम उपभोक्तालाई केही भनुहुन्छ ?
उपभोक्ताको माग र चाहनालाई ध्यानमा राखेर असल व्यवसायीले व्यवसाय सञ्चालन गर्ने हो । युगअनुसार बिक्रेता र उपभोक्ता पनि चल्ने भएकाले यसमा दुवैबीच सामन्जस्यता कायम हुन्छ । आल्मुनियमको प्रयोगले वन जंगल संरक्षणमा सहयोग पुर्याएको छ । आल्मुनियमले वातावरण जोगाएको छ । हरियाली छाउन मद्धत पुर्याएको छ । ग्रिन सिटी र क्लिन सिटी निर्माणमा आल्मुनियमको उपभोग बढ्दो छ । काठका सामाग्रीजस्तो झन्झटिलो नहुनु पनि अर्काे कारण हो । यसकारण उपभोक्तालाई जानकारी गराउन चाहन्छु कि– आल्मुनियम किन्नुस्, ढुक्क हुनुस् ।

Leave a Reply