देशकै तेस्रो पर्यटकीय गन्तव्य रसुवा :- बत्तीमुनिको अध्यारोको नियतीमा बाँचिरहेछ

0

अम्बिर गुरुङ नेपालको पर्यटन क्षेत्रमा परिचित नाम हो । पिता कर्ण वहादुर गुरुङ र माता गाजली माया गुरुङको कोखबाट आजभन्दा ५१ बर्ष अगाडि जन्मिए रसुवाको डाडाँगाँउमा । विगत लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध उनी कष्टम टे«क नेपाल प्रा लिका प्रवन्ध निर्देशक हुन् । सँगै गुरुङ पर्यटन ब्यवसायी संघ (जिटिन) को उपाध्यक्ष समेत रहेका उनी रसुवा नुवाकोट पर्यटन समाजका उपाध्यक्षसमेत हुन । राजनीतिशास्त्रमा स्नाकोत्तर,कानुनमा स्नातक र शिक्षा शास्त्रमा स्नातक उपाधि हासिल गरेका यी सफल पर्यटन व्यवसायीलाई भेटेर हाम्रा सहकर्मी महेश्वर गजुरेलले रसुवामा पर्यटनको विकास कसरी गर्न सकिएला ? र के कारणले रसुवा पर्यटन क्षेत्रमा पछाडि परेको हो भन्ने जिज्ञासा राखेका थिए :

नेपालको सुन्दर जिल्लाको रुपमा प्रख्यात मानिन्छ रसुवा जिल्ला । जो देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा समेत परिचित छ । यहाँ के छैन् ? रसुवा प्राकृतिक स्रोत र साधनको अनुपम भण्डार छ । वर्तमान राज्य पुनर्संरचनापछि रसुवालाई ५ गाउँपालिका र २७ वडामा विभाजन गरिएको छ । जसभित्र आमाछोदिङ्मो गाउँपालिका, गोसाईकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र उत्तरगया गाउँपालिका रहेका छन् । यहाँका प्राकृतिक सम्पदा, आँखा अगाडी नै कुम मिलाएर लस्करै बसेका सेता हिमाल जस्तै :गणेश हिमाल, लाङटाङ हिमाल, लिरुङ हिमाल, यालापिक, लाङसिसा, स्याङजेन खर्क आदि यस प्रदेशका प्रमुख चुचुराहरू हुन् ।

हिउँद याममा बारम्बार हिमपात हुने र बाँकी समयमा प्रायः ठण्डा हावापानी पाइने यस प्रदेशमा गोसाइँकुण्ड, लाङटाङ क्यान्जिन, घोडातबेला, लौरीविनायक, चन्दनबारी, सोमदाङ, माङ्गचेत, तातोपानी, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि पर्यटकीय स्थलहरू रहेका छन् । यहि भौगोलिक विशेषताका कारणले लाखौं स्वदेशी तथा विदेशी पर्यटकहरुको मन जितेको छ । रसुवाको यो सौन्दर्यता मुलुकमा मात्रै नभई विश्वमै परिचित छ ।

अम्बिर गुरुङ
प्रवन्ध निर्देशक
कस्टम ट्रेक प्रा लि

जनसंख्याको हिसावले अन्य जिल्लाहरुको तुलनामा रसुवा सानो जिल्ला हो । आज रसुवाले राष्ट्रको मात्रै नभई विश्वमै नेपालको नाम राखेको छ । सात समुन्द्रपारिका विदेशी पर्यटकहरुको उत्कृष्ट गन्तब्य मानिएको लाङटाङ पदमार्ग पनि यही रसुवामा भएकोले मुलुकको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा मिलेको छ । रसुवा भूस्वर्ग भएपनि यस क्षेत्रको विकास भने हुन सकिरहेको छैन् । आज पनि रसुवा वत्तिमुनिको अध्यारोको नियती भोगेर बाँचिरहेछ । मूलखर्कको पैरो झैं हरेक बर्ष बगिरहेछ रसुवालीको भविष्य । एकातिर राज्यले यहाँको प्राकृतिक सम्पदा, मनोरम दृश्यको महत्व बुझ्न सकिरहेको छैन् भनौँ । राज्यले थोरै लगानी गरेर अर्बाैँ रकम राज्यको ढुकुटीमा जम्मा गर्न सकिने भएपनि त्यसो हुन सकिरहेको छैन् । यद्यपि, रसुवामा रहेका ताल तलैया, हिमश्रङ्खला, झरना, बन्यजन्तु, पुराना सांस्कृतिक सम्पदा तथा संस्कृतिहरुको संरक्षणमा लाग्नु आवश्यक छ । लक्ष्यका साथ राज्य लाग्ने हो भने मुलुकको पर्यटन प्रवद्र्धन हुनुको साथै राज्य कोषमा अर्बाै रकम जम्मा गर्न सकिनेछ ।

लाङटाङ पदमार्गमा पर्ने रसुवामा १२ महिना आन्तरिक तथा बाह्य पर्यटकहरुको ताँती लाग्ने गर्दछ । ५ वटा गाउँपालिका र २७ वडामा विभाजन गरिएका गाउँ विकास समितिमा रसुवाका सबै गाउँपालिकाहरु कुनै न कुनै रुपले प्रख्यात छन् । सबै गाउँहरु रमणिय भएकोले रसुवा पुग्ने पर्यटकहरु आफ्नो भ्रमणलाई लम्ब्याएर भएपनि सबै गाउँहरु पुग्ने गर्दछन् । यहाँ उत्पादन हुने फापर र आलुले रसुवाको पर्यटन ब्यवसायमा थप टेवा पु¥याएको छ भने जीविकोपार्जनको राम्रो स्रोत पनि बनेको छ । त्यसो त यहाँको पर्यटन व्यवसायलाई दरिलो बनाउन जति सम्भावनाहरु छन् त्यति नै चुनौतीहरू पनि उस्तै छन् । मुख्यतः घुम्न आउने पर्यटक हराउनु, मृत भेटिनु र मृत वा हराएको को हो ? भन्ने खालका समस्याहरु पछिल्लो समय देखा पर्ने गरेका छन् ।

सामाजिक कर्ममा कष्टम नेपाल

कुम जोडेर बसेका अग्ला सेता हिमालले पदमार्गमा आएका पर्यटकहरुलाई झनै मोहित पारिदिएको छ । प्राकृतिक दृष्टिकोणले अत्यन्तै धनी मानिएको रसुवाको विकासमा भने राज्य उदासिन छ । रसुवाको पर्यटन विकासमा राज्यले करोडौं खर्च गरेर खर्बौँ आम्दानी गर्न सक्ने भएपनि त्यसो हुन नसक्नु दुःखद हो । यसकारण राज्यले अब, कुनै अबिलम्ब नगरीकन रसुवाजस्तो पर्यटकीय हिसाबले सम्भावनै सम्भावना बोकेको जिल्लाको समग्र विकासमा ध्यान दिन जरुरी छ । मुलुकको पर्यटन ब्यवसायमा ठूलो टेवा पु¥याउने मात्र नभई पहिलो हिमाली निकुञ्जको नामले पनि परिचित छ । यस्तै, नेपालमै पहिलो पटक चौरीको दूधबाट बन्ने परिकार चिज उत्पादन गर्ने ठाउँ पनि यहिँ क्षेत्र लाङटाङ हो । विश्वमा नै दुर्लभ मानिएका रातो हाब्रे, हिमचितुवालगायतका जंगली जनावर, लालीगुँरास, लाङटाङे सल्लो तथा विविध प्रजातिका दुर्लभ वनस्पति अनि हिमश्रृङ्खला, नदीहरू र रामसार सूचीमा परेको गोसाइँकुण्ड ताल यहाँका आकर्षणका केन्द्रविन्दू हुन् । यी सबैको उचित संरक्षण तथा व्यवस्थापन हुन सके देशको सान अझ फेरिन्थ्यो ।

Leave a Reply