सांसद रसाइली संसद भवनमा उफ्रिए- ‘वर्षमान पुन र कुलमान घिसिङले चार अर्ब २९ करोड घोटला गरे’

0

ऊर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ४ अर्ब २९ करोड घोटला गरेको आरोप लगाइएको छ । आइतबार बसेको संघीय संसदको बैंठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले उर्जामन्त्री पुन, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र प्राधिकरणको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड घोटाला गरेको आरोप लगाएका हुन् ।

संसदमा उनले भने, ‘यत्रो रकम नउठ्नु भनेको यहाँ ठूलै भ्रष्टाचार भएको छ भन्ने हो, मन्त्रालयले नै उक्त रकम उठाउन चासो नदेखाउनु भनेको त्यहाँ भ्रष्टाचार हो ।’ रसाइलीले डेढ दशकअघि मुलुक लोडसेडिङमा चुर्लुम्म डुबेको समयमा उद्योग धन्दा, कलकारखाना बन्द हुने प्रकृयामा रहेको समयमा तत्कालीन सरकारले उद्योगलाई डेडिकेटेड र ट्रक लाईन दिने क्रममा उक्त भ्रष्टाचार भएको आरोप लगाएका छन् । उनले मिलेमतोका आधारमा उद्योगीलाई दिइएको ४ अर्ब २९ करोड रुपैयाँ राजश्व उठाउन नसकेको भन्दै उक्त रकम उर्जा मन्त्रालयले किन नउठाएको ? प्रश्नसहित कारणको पनि माग गरेका छन् ।
संसदमा उनले भनेका छन्, ‘तत्कालीन समयमा एउटा उपसमिति बनेको थियो । त्यो उपसमितिको प्रतिवेदनमा विद्युत प्राधिकरणमा मन्त्रालयका मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड रुपैयाँ उठाउनु पर्छ भनेर निर्देशन दिएको थियो । आज त्यो प्रतिवेदन कहाँ लुकाएर राखेको छ थाहा छैन तर त्यो प्रतिवेदन हामीले पाएका छौं । मन्त्रालयले नेपाली जनताले तिरेको करबाट उठेको पैसा व्यापारीसँग मिलेर ठग्ने काम भएको छ ।’
सांसद रसाइलीले बिनाप्रतिस्पर्धा चिनियाँ कम्पनी गेजुवलाई बूढीगण्डकी दिइएको भन्दै आक्रोश पोखे, ‘बूढीगण्डकी काँग्रेसले दिएको भए त्यो राष्ट्रघात हुने तर कम्यूनिष्टले दिँदा राष्ट्रवाद हुने’ ।

Leave a Reply