संघर्षको भट्टीमा खारिएर स्पातिलो बनेका सफल व्यवसायी तेम्बा

0

टुप्पाबाट पलाएकाहरुको उदय जसरी हुन्छ ती उसैगरी अस्ताउँछन् । चाहे उद्योगको क्षेत्र होस वा अन्य । दिगो त ती हुन्छन् जो फेदैबाट पलाएका हुन्छन् । हाम्रा समाजमा अचेल प्रशष्त भेटिन थालेका छन् टुप्पाबाट पलाएकाहरु । तर तेम्बा लामाको विगत कहालीलाग्दो छ । आज उनी जुन उचाईमा छन् त्यहाँबाट तल फर्केर हेर्दा कम्ति कहालीलाग्दो छैन उनको विगत । जीवनमा एउटै कुरालाई मूलमन्त्र बनाए र अगाडि बढिरहे कर्मपथमा । कर्मलाई कहिल्यै सानो ठानेनन् । बरु माने पूजा,ठानें ईश्वर । त्यही कारण त आज उनको परिचय फेरिएको छ ।

हिजोको संघर्षको भट्टीमा खारिएर,दुखको आरनमा अर्चापिएर स्पातिलो बनेका उद्यमी हुन तेम्बा । नेपालको पर्यटन क्षेत्रमा चिरपरिचित नाम हो । आजभन्दा साढे दुई दशकदेखि अगाडिदेखि उनी निरन्तर पर्यटन क्षेत्रमै सक्रिय छन् । ५१ सालदेखि उनी होमिए पर्यटन क्षेत्रमा । ०५१ मै ट्रेकिङमा पोर्टरका रुपमा प्रवेश गरेका हुन् । उनलाई पर्यटन क्षेत्रले यसरी मोहनी लगायो । यो क्षेत्र छाडेर अन्त जानै सकेनन् र सक्दैनन् पनि । यी २५ बर्षको अथक संघर्षबाट जन्मिएको नाम्लाङ इको टुरिजमका र सनराइज गेस्ट हाउस । यी दुबैका सञ्चालक हुन तेम्बा । उनले ५५ सालमा राजधानीको बौद्धमा नाम्लाङ इको टुरिजम सञ्चालनमा ल्याएका हुन् । बाबु दावा लामा र आमा स्व.रिक्ची लामाको कोखबाट २० मंसिर ०३५ मा रसुवाबको लाङटाङमा जन्मिएका उनको परिवारको आर्थिक स्थिति सामान्य थियो । हाल व्यवसाय र समाजसेवामा समर्पित लामाका दुःखका पहाडहरु कहालीलाग्दा छन् । अनेकै हण्डर र ठक्कर खाएर सफल व्यवसायी बनेका उनले उनी यती मात्र नभएर रसुवागढी समाजका सचिव, रसुवा–नुवाकोट पर्यटन समाजका सदस्य । यसका साथै २०७२ सालको भूकम्प पछि उनले थप जिम्मेवारी पनि वहन गरेका थिए लाङटाङ पुन निमार्ण व्यवस्थापन समितीका अध्यक्ष पनि हुन् । जसको कारणले हाल लाङटाङको मुहार नै परिवर्तन भएको छ । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्ष मनाउँदै गर्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रसँग लडिबुडी गरेका उनीसँग भ्रमण बर्ष,नेपालको पर्यटन क्षेत्रको वर्तमान अबस्था,रसुवामा पर्यटनको सोचेजति विकास नहुनुका कारण लगायतका बिषयबस्तुमा केन्द्रीत रहि उद्यमीकर्मी महेश्वर गजुरेलले केही कुरा खोतल्ने प्रयास गरेका छन् ।

तेम्बा लामा
प्रवन्ध निर्देशक, नाम्लाङ इको टुरिजम र सनराइज गेस्ट हाउस

पर्यटन क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? बताइदिनुस् न,
रसुवा जिल्ला पर्यटनको हिसावले तेस्रो गन्तव्य स्थान हो । यो भेग लाङटाङ राष्ट्रिय निकुञ्ज भएकोले विदेशी पर्यटकहरुको आकर्षण बढ्दो छ । सुरुमा यो क्षेत्रमा प्रवेश गर्दा विदेशीहरुको बोलीचाली, लवाईखुवाईले मोहित बनायो । सङ्गत गर्न मन लाग्यो । ०५१ देखि पोर्टरको रुपमा काम गर्न थाले । काम गर्दै जाँदा यो पेशाले झन् आकर्षित गर्यो । र, ०५५ मा नाम्लाङ इको टुरिजम प्रालि स्थापना भयो । त्यसपछि पर्यटकहरुलाई आफ्नै कम्पनीबाट सेवा सुविधा दिन थालियो । यससँगै ०६८ मा सनराइज गेस्ट हाउस पनि सञ्चालनमा आयो ।

तपाई रसुवामै जन्मिनुभयो । यहाँको हावापानीसँग चिरपरिचित हुनुहुन्छ । यहाँको पर्यटन व्यवसायमा देख्नुभएका सम्भावना र चुनौतीहरू के के हुन् ?

रसुवा प्राकृतिक स्रोत र साधनले भरिपूर्ण जिल्ला हो । यहाँ अनगिन्ति पर्यटकीय उद्गम स्थलहरू छन् । लाङटाङ, गोसाइँकुण्ड जस्ता स्थलहरू तेस्रो पर्यटकीय गन्तव्यको रूपमा विश्वमा नै परिचित छ । त्यस्तै, तामाङ हेरिटेज ट्रोल विकासोन्मूख स्थलको रूपमा रहेको छ । अन्य धेरै पर्यटकीय सम्भावनाका क्षेत्रहरू रसुवामा छन् । पैरेबेशी, मैलुङ, हाँकु हुँदै तामाङ हेरिटेज ट्रेल निस्कने बाटो र स्याउबारी हुँदै यार्सा, सरमथलीबाट नुवाकोटको चोकदे वा रसुवाकै बेत्रावती निस्कने अर्को बाटो पनि प्रचुर सम्भावना भएको रूट हो । यो विकासको सम्भावना बोकेको मार्ग पनि हो । कतिपय ट्रेकिङ एजेन्सीहरू स्याउबारी, नौकुण्ड हुँदै गोसाइँकुण्डमा पुगिसकेको अवस्था छ । यसरी हेर्दा रसुवा एउटा पर्यटकीय सम्भावना रहेको जिल्ला हो ।
अब कुरा गरौँ, रसुवा जिल्लामा देखिएका सम्भावनासहितका चुनौती र कठिनाईहरू । यो भेगको पर्यटन क्षेत्रका जति सम्भावनाहरु छन् उत्तिकै चुनौती र समस्याहरु छन् । मुख्यतः पर्यटन व्यवसाय व्यवसायिक हुन सकेको छैन । व्यवसायीहरूबाट नै व्यवसायिक रूप दिन सकिएको छैन । यसकारण पर्यटन व्यवसायलाई विविधिकरण गर्न अति नै आवश्यक छ । अर्कातिर, थोरै समूदाय पर्यटकीय व्यवसायमा लाग्नु, शिक्षित र योग्य जनशक्ति कम हुनु यहाँका अर्का चुनौतीहरू हुन् । त्यस्तै, यो भेगमा अन्य जिल्लाका गाइड र व्यवस्थापक हुनु र रसुवाका पोर्टर हुनु दुःखको कुरा हो । यसमा हामी सबैको जिम्मेवारी कम रहेको छ । यसमा कुनै एउटा व्यक्तिको मात्र दोष छैन । मतलब भरियाबाट गाइड र गाइडबाट व्यवस्थापक वा स्तरोनन्नती हुन नसक्नु रसुवाको पर्यटन व्यवसायका चुनौतीहरू हुन् । अर्काे मैले भन्न विर्सेको कुरा, यहाँ यातायात क्षेत्रको चरम समस्या छ । लाङटाङ राष्ट्रिय निकुञ्जका जंगलहरू हेर्दै हिड्नको लागि नयाँ पर्यटकीय र्पूवाधार बनाउनु पर्छ । यसो गर्दा सुवामा पर्यटक एकदिन भने पनि लामो समय रहन्छन् । यसले सबैलाई फाईदा पुग्छ ।

होटल व्यवसायीहरूको अस्वस्थ प्रतिस्पर्धाले पनि यहाँकोे पर्यटक क्षेत्रमा असर परेको सुनिन्छ । के भन्नुहुन्छ यस बारेमा ?
पर्यटन व्यवसायीहरूको आपसी सम्बन्ध कस्तो रहेको छ ? प्रतिस्पर्धालाई त म राम्रो संकेतको रूपमा लिन्छु । पर्यटकहरुको बासको सम्बधन्धमा अन्य क्षेत्रको तुलनामा लाङटाङ, गोसाइँकुण्ड क्षेत्रमा पर्यटकहरूलाई कोठा निःशुल्क गराएर खानाको चाहिँ मूल्य बढी लिने गरेको सुनिन्छ । हवाइजहाजमा आफ्नो लगेज लगेर तीन दिनको बाटोसम्म बोकेर लाने ठाउँमा र बसबाट एक दिनको बाटोमा पनि एउटै मूल्य छ । होटल यद्यपि, व्यवसायीहरूले भने खानामा मात्रै व्यापार गर्ने हो भन्ने ठानिरहेको देखिन्छ । साँच्चै भन्नुपर्दा, गुणस्तरलाई त्यत्ति ध्यान दिन सकिएको छैन । यो राम्रो पक्ष होइन । यस्ता खालका समस्याहरूलाई समाधान गर्न सक्नुपर्छ । र, यी समस्याहरु त्यति जटिल होइनन् । अर्को कुरा होटल व्यवसायी र ट्राभल एजेन्सी व्यवसायीहरू बीच सम्बन्ध राम्रो छ । तर, व्यवसायिकपन निर्धारण गर्नको लागि दुबै पक्षमा छलफल हुनु भने आवश्यक छ ।


० तपाई पर्यटन व्यवसायीसँगै एक होटल व्यवसायी पनि हुनुहुन्छ । सन् २०१९ मा नेपालको पर्यटन क्षेत्र कस्तो देख्नुहुन्छ ?
यो वर्षको जुनसम्म आईपुग्दा पर्यटन क्षेत्रको स्तरोन्नतिमा राम्रो संकेत देखिँदैन । जति होटलहरु छन्, ती होटलहरु खालीझैँ छन् । धमाधम ट्रेकिङ जानुपर्नेमा ट्रेकिङ जाने समूहरु कम देखिन्छन् । यति नै बेला नेपालमा पर्यटकहरु पदयात्रा गर्दा बिरामी भएको अवस्थामा हेलिकोप्टरबाट उद्धार गरिने र बिमा रकम दाबी पनि गर्न सकिने हल्ला विश्वभर चलेको छ । त्यो कारणले पनि पर्यटकहरु नेपाल आउन डराएको सत्य हो । नेपालमा ट्रेकिङ जाँदा विरामी परिन्छ र जिउज्यान जोखिममा पर्ने खतरा मोल्न पर्यटकहरु नेपाल नभित्रिएका हुन् ।

 

० सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने उद्देश्यका साथ उक्त वर्षलाई नेपाल भ्रमण वर्ष मनाउने तयारी गरेको छ । सरकारको यो कदम सफल हुनेमा विश्वस्त हुनुहुन्छ ?

मैले माथि पनि यस विषयमा भनिसकेकोले फेरी थप कुराकानी गर्न आवश्यक नहोला । सन् २०१९ को पर्यटकको आगमनको लक्षण हेर्दा त सन् २०२० मा टाउकै गन्ने हो भने पनि १५ लाख पर्यटक पनि नेपाल भित्रिन नसक्ने स्थिति देखिन्छ । यद्यपि, सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लाग्नु नकारात्मक नभई सकारात्मक विषय नै हो । २०२० का लागि सरकारले एउटा भिजन लिएर हिँडेको देखिन्छ र भ्रमण वर्ष सफल बनाउनका लागि संख्या अपुग भएपनि नेपालको प्रचार–प्रसार र प्रवद्र्धन त उल्लेख्य सहयोग पुग्ने छ । यसकारण अझैँ पनि सरकारसँग भ्रमण वर्ष सफल पार्न समय छ । र, भ्रमण वर्ष सफल पार्नका लागि सबैभन्दा पहिले ‘फेक रेस्क्यु’जस्ता गलत सूचनाहरुलाई रोक्नुप¥यो । र, नेपालको मौलिकतालाई प्रवद्र्धन गर्न सक्नुपर्दछ ।

० नेपालमा पछिल्लो समय ट्रेकिङ जाने पर्यटकको संख्या कस्तो छ ?

पछिल्लो समय ट्रेकिङ जाने पर्यटकहरुको संख्या केहि मात्रामा बढेको छ । तर, ट्रेकिङ कम्पनीबाट नभई आँफै झोला बोकर जाने ट्रेकर्सहरुको संख्या वढेको छ । यसबाट कसैलाई पनि फाईदा हुँदैन । राज्यले पाउने कर, भ्याट केहि पनि नपाउने अवस्था उत्पन्न भएको देखिन्छ । यद्यपि व्यक्तिगत स्तरबाट पैदल यात्रा गर्दा कति पर्यटकहरुको आगमन भयो भन्ने सत्य तथ्यांक समेत संकलन गर्न हुँदैन । सारमा भन्नुपर्दा, पैदलयात्रीहरुको संख्या भने बढेको छ ।

० पर्यटन क्षेत्रको द्रुत विकास गर्नका लागि के के आवश्यक छन् ?

मुख्य कुरा सरसफाई हो । पर्यटकहरूले सफा खोज्छन, तर हाम्रो मुलुकको राजधानी शहर पनि फोहोर र दुर्गन्धित छ । हवाइजहाजबाट अवतरण गरेलगत्तै एउटा पर्यटकले यहाँको सरसफाई हेर्छ । तर, यहाँ झर्नासाथ दिक्क हुने अवस्था छ । जताततै कागजका खोस्टाहरू, जथाभावी फोहोरका डंगुहरु फाल्नाले पर्यटकहरुको आगमनमा रोक लागेको भनिरहनु नपर्ला । मुख्यत, फोहोरमैलाले मानव स्वास्थ्यमा पनि असर पार्छ भन्ने वुझनु पर्यो । त्यसमाथि पनि हामीकहाँ फितलो प्रणाली छ, नियम कानुन बन्छन्, पहिले आफैँबाट उल्लंघन हुन्छन् । त्यस्तै, यहाँ स्वतन्त्र रूपमा पर्यटक आफै निश्चित ठाउँ रोजेर बस्न पाएका छैनन् । यहाँ तानातान हुन्छ, त्यस्तो हुनु एकदम नराम्रो हो । ट्याक्सी चालक नै ‘हाम्रो होटलमा जाउँ’ भनेर बाटोबाटो लैजाने प्रथालाई त्यागेर राम्रो स्वागत, सत्कारसहित पर्यटकको दिल खुसी बनाउन सक्नुपर्दछ ।

० वर्षेनी हजारौँ विदेशी पर्यटकहरू नेपालमा आउँछन् । खास के कुरा प्रति आकर्षित भएर नेपाल भ्रमणमा आएको देख्नुहुन्छ ?

सांस्कृतिक विविधिता । विदेशीहरु नेपाल आउनुको मुख्य उद्धेश्य नै यहाँको विविध सँस्कृतिसँग जोडिएको छ । । विभिन्न जातजाती, भाषा, भेषभूषा, फरक फरक हावापानी नै यहाँको भौगोलिक विशेषता हो । जुन विशेषता विदेशमा पाइँदैन र नेपाल नआई बस्न सक्दैनन् । त्यस्तै, नेपालको वन, वन्यजन्त, सेताम्य हिमाल, हरिया डाँडाकाँडा अनि वनपाखाले जो कसैका मनमा अमिट छाप बसाइदिन्छ ।

० अन्तमा,  के भन्न चहानुहुन्छ ?

आजका आम युवाहरुको मानसिकता नै एस.एल.सी.(एस.इ.इ.) पछि विदेश जाने सोच बनाएका हुन्छन् यसरी हरुको देशमा गएर आफ्नो देशमा नै केहि गर्न अपिल गर्दछु । लगानी नै गर्नु नपर्ने व्यवसायभ नेको नै पर्याटन व्यवसाय हो त्यसैले यो व्यवसायमा नोक्सान होला भनेर डराउनु पर्दैन् । निर्धक्क सँग काम गर्न सके नेपालमा नै बसेर नै मनगय आम्दानी कमाउन सक्ने अवस्था छ ।

Temba lama Langtang # Namlang eco tourisum

Leave a Reply