यी हुन मासु पसलका कामदार जो बने अर्बपति

0

८१ वर्षअघि न्युयोर्कको ‘रोलिन्स हाइट’ मा मजदुर परिवारमा केन्नेथ ल्याङ्गोनेको जन्म भएको हो ।

उनका बुबा प्लम्बर थिए भने आमा क्याफ्टेरियामा काम गर्थिन् । केन्नेथ आफैं धेरै संघर्षशील थिए । आफ्नै परिश्रम र मेहनतबाटै उनी अर्बपति बनेका हुन् ।

उनले कुनै पनि कामलाई सानो वा ठूलो भनेनन् र सानै देखि मासु पसलेको सहयोगीदेखि खाल्डो खन्नेसम्मका काम उनले गरे । अझ एक चकलेट उद्योगमा क्यान्डीसमेत बनाएका थिए । परिवारको आर्थिक अवस्था कमजोर भए पनि उनी धनाढ्य बन्न चाहन्थे । लक्ष्यमा पुग्न उनले एकैपटक धेरै नोकरी गरे । त्यसबाट मनग्ये आयआर्जन गर्न पनि सफल भए । काम र कमाइसँगै आफ्नो पढाइलाई समेत उनले नियमित राखेका थिए । साढे तीन वर्षमा उनले स्नातक उत्तीर्ण गरे । त्यसपछि ‘न्युयोर्क युनिभर्सिटी स्टर्न स्कुल अफ बिजनेस’ मा रात्रिकालीन सेवामा भर्ना भई दिउँसो अन्यन्त्र पूर्णकालीन काम गर्ने गर्थे ।

पढाइ सकेपछि केन्नेथले व्यापारमा हात हालेका थिए । केही समय अन्तरालमै उनले रोस पेरोट्स कम्पनी ‘इलेक्ट्रोनिक डेटा सिस्टम’ सँग सम्झौता गर्दै आफ्नो व्यापारलाई चम्काउन थाले । यसमा दशकसम्मको अनुभव संहाल्दै उनी ‘होम इम्प्रुभमेन्ट’ व्यापारमा लागेका थिए । संजोग नै भन्नुपर्छ, यो व्यापार थालेकै बेला यस्तै प्रकृतिको काम गर्ने अर्को एउटा कम्पनीको जालो ‘ह्यान्डी ड्यान’ को सेयर खरिद गर्न पुगे । यसले उनको सम्बन्ध ‘ह्यान्डी ड्यान’ का सीईओ बर्नाड मार्कस र सीएफओ अर्थर ब्ल्याङसँग कायम हुन पुग्यो । कम्पनीमा थोरै लगानी गरे पनि उनले मार्कसमाथि आफ्नो विश्वास जमाउन सफल भए । त्यसैक्रममा उनले ‘दि डेलिन कर्पोरेसन’ का सीईओ स्यान्डफोर्ड सिगिलफसँग पनि आफ्नो सम्बन्ध विस्तार गरे । केही समयमै उनले ह्यान्डी ड्यान कम्पनीको सबै सेयर बेचे । त्यस बापत पाएको रकमले उनी ‘होम डिपोट’ कम्पनी खडा गरे । हाल उनको कम्पनीको राष्ट्रिय स्तरको एउटा सञ्चालन नै कायम छ, जसमा तीन लाखभन्दा बढी कर्मचारी कार्यरत छन् । अमेरिकी उद्यमी केन्नेथ इन्भेस्टमेन्ट ब्यांकर पनि हुन् । अमेरिकी अखबार ‘फोर्ब्स’ का अनुसार केन्नेथको कुल सम्पत्ति ३ दशमलव १ अर्ब (रियल टाइम २१ अप्रिल २०१७) अमेरिकी डलर रहेको छ ।

‘वाल स्ट्रिट’ मा प्रवेश गर्नुअघि दुई वर्ष अमेरिकी सेनामा समेत काम गरेका उनले सन् १९९९ मा न्युयोर्क विश्वविद्यालयमा एक करोड अमेरिकी डलरको ‘पार्ट टाइम’ पढ्ने विद्यार्थीका लागि एमबीए कार्यक्रम सञ्चालन गर्न सहयोग गरेका थिए । सन् २००८ मा उनले स्वास्थ्य केन्द्रलाई २० करोड डलर सहयोग गरेका थिए । हाल यी दुई संस्था उनकै नाममा सञ्चालित छन् । उनी यतिमै आफूलाई सीमित राखेका छैनन् । अन्य परोपकारी काममा पनि उनको लगानी बढदै गएको छ ।

Leave a Reply