प्रेमकुमारी जब बनिन् अल्लोको उद्यमी

0

सन्तोष दहित

घोराही,दाङ

प्रेम कुमारी पुन सत्र वर्ष अगाडि रोल्पाको एक विद्यालयमा शिक्षिका थिईन् । उनको सपना थियो, एउटी अशल शिक्षिका बनेर विद्यालयमा पढ्न आउने विद्यार्थीहरुलाई जिल्लाका अन्य विद्यालय भन्दा राम्रो विद्यार्थी बनाउने । तर, प्रेमकुमारीको इच्छा र अठोट खाली सपनामा सीमित भयो । उनी मात्र हैन, उनका अन्य सहकर्मी साथीहरुको पनि त्यस्तै भयो । कारण थियो, देशमा चलेको १० वर्षे सशस्त्र द्वन्द्व । प्रेमकुमारी कहिले तत्कालीन विद्रोही माओवादीको त कहिले सरकारी सुरक्षाकर्मीको चपेटामा पर्न थालिन् । त्यसबेला जताततै बम, बारुद र गोली बर्सिरहेका थिए । अझ द्वन्द्वको सबैभन्दा ठूलो चपेटामा परेको ठाउँ रोल्पामा सरकारी सेनाले सबैभन्दा बढी केरकार र निगरानी गरेको थियो ।
अन्ततः लामो समय देखि शिक्षण पेशामा रहँदै आएकी प्रेमकुमारी २०५८ मा शेक्षण पेशाबाट सधैंका लागि विदा भइन्, र दाङको सदरमुकाम घोराही झरिन् । घोराहीमा आएर ज्यानको सुरक्षा भएपनि पेटको चिन्ताले उनलाई सताउन थाल्यो । यसैक्रममा उनले सिलाई कटाईको तालिम लिएर जिविकोपार्जन गर्ने योजना बनाइन् । सीलाईकटाई सेन्टरमा तालिममा भर्ना हुन चाहे पनि उनलाई भर्ना गर्न हिचकिचाए । शिक्षक पेशाबाट आएकी प्रेम कुमारीले यो काम गर्न सक्दिनन् ठानेर उनलाई भर्ना गर्न नचाहेको रहेछ ।

आफुलाई सीलाईकटाई गर्न सक्दिनौं भन्दै सलाई कटाई सेन्टरमा भर्ना गर्न अस्वीकार गरेको सम्झिदै उनले भनिन्,– ‘सकम्ला नसकम्ला त्यो मेरो कुरा हो । म सित्तैमा त सिक्दैन, पैसा तिर्छु त्यो पनि मेरो खर्चहुन्छ, तपाईको त हुदैन नी भनेपछि मलाई त्यहाँ भर्ना गरियो । र अन्ततः मैले त्यहाँ सिलाईकटाई केन्द्रमा सिक्ने प्रशिक्षार्थीहरु मध्ये सबैभन्दा उत्कृष्ट प्रशिक्षार्थी भएर तालिम पूरागरे ।’
तर, प्रेमकुमारीलाई सिलाइकटाइमा उत्कृष्ट भएपनि त्यसलाई जागिर खाने माध्यम बनाउन मन लागेन । उनले अरुकोमा काम गर्नुभन्दा आफू एक सफल उद्यमी बन्ने योजना बनाइन । तर, कस्तो, के को उद्यमी बन्ने भन्ने टुंगो गर्न भने ऊनी आफैंलाई पनि गाह्रो भएको थियो । पछि घर परिवार र इष्टमित्रसँग सल्लाह गरेर अल्लोको उद्यमी बन्ने सोच बनाइन् ।सानोमा आफ्नै आमासँग अल्लोको लुगा बुन्ने सीप सिकेकोले पनि आफूलाई पनि सहजता हुने र आफ्नो पुर्खौली पेशाको संरक्षण पनि हुने भएकोले सोहि अनुसार प्रेमकुमारीले अल्लो उद्योग खोलिन् ।

चिनारी महिला साझेदारी समूह उद्योगको नाममा दाङको घरेलु तथा साना उद्योगमा दर्ता गराएपछि उनी अल्लोको संकलनमा लागिन् । रोल्पा, रुकुम, डोटी, अछाम लगायतका जिल्ला जिल्लाबाट अल्लो मगाउन थालिन् र त्यहि अल्लोबाट स्टकोट, टोपी, क्याप, झोला, जुत्ता लगायतका सामग्री उत्पादन गर्न थालिन् । ‘पहिला यस्तो खस्रो–खस्रो के बनाएको हो, यस्तो पनि कसले लगाउछ र भन्थे’, उनले सम्झिइन्, ‘मैले पहिला लगाएर हेर्नुस, त्यसपछि के हुन्छ अनि भन्नुहोला भनेर जवाफ दिन्थे ।’ ‘सुरुमा त्यहि अल्लोबाट बनाएको एउटा स्टकोट र टोपी उद्योगका अधिकृतलाई दिएँ । उहाँले पहिला लगाउन मान्नु भएको थिएन पछि लगाएपछि के भयो, दुई चारदिन पछि मेरो पसलमा आएर एकजोर फेरि किनेर जानुभयो’, उनले भनिन्,–‘गर्मीको समयमा निकै शितलता दिने, टाउको दुख्नेलाई पनि कम गर्यो भन्दै उहाँले अरु भन्दा यो लगाउँदा अरुभन्दा फरकपन पाएको अनुभूति सुनाउनुभयो ।’
यसपछि विस्तारै अल्लोको व्यापारले बजार लिँदै जिल्ला देखि राष्ट्रिय, अन्तराष्ट्रिय स्तरसम्म पुग्यो प्रेमकुमारीले भनिन्,–‘अल्लोबाट उत्पादन भएका कपडाहरु गर्मी र जाडो दुवै मौसमका लागि अति उपयुक्त भएकोले पनि यसको माग ह्वातै बढेको हो ।’ उनकाअनुसार नेपालमा मात्र नभई यसको माग जापान, बेलायत, अमेरिकालगायत देशहरुबाट समेत आउने गरेको छ । करिब ३ लाखबाट सुरु गरेको उद्योगमा अहिले करिब ७० लाखको हाराहारीमा लागनी रहेको छ । दैनिक ५ हजार देखि २० हजारसम्म व्यापार हुने गरेको समेत उनले सुनाइन् । कहिले काँहि थोरै हुन्छ, प्रेमकुमारीले भनिन्,–‘मेला, महोत्सव र चाडपर्वमा सबैभन्दा बढी यसको व्यापार हुने गर्छ ।’ यहि अल्लोकै कारण प्रेमकुमारी देशको उत्कृष्ट उद्यमी भएकीछिन् । सयौंको संख्यामा उनले सम्मानपत्र पाएकी छन् । जिल्ला, क्षेत्रीय पुरस्कार र सम्मानबाट सम्मानित भइसकेकी उद्यमी प्रेमकुमारी पुन गत वर्ष भएको घरेलु तथा साना उद्योग विकास समिति प्रधान कार्यालय काठमाडौंले भृकुटीमण्डपमा आयोजना गरेको २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि पदर्शनीमा देशभरीका उद्यमीहरुलाई उछिन्दै सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मानित समेत भएकी थिइन् ।


उनले भनिन्,–‘राज्यले हामीलाई सम्मान, पुरस्कृत त गर्यो, यसैगरी नै हामीलाई विनाधितोमा र सस्तो ब्याजमा ऋण उपलब्ध गराइदिने वातावरण मिलाइदियो भने हामी जस्ता सयौं दाजुभाई महिला दिदीबहिनीले पनि सानो–सानो उद्योग व्यापार सञ्चालन गर्न सक्थे र विदेश गइरहेका दाजुभाईलाई आफ्नै स्वदेशमा रोजगारी पनि हुने र आफ्नै स्वदेशीहरु सस्तो र सर्वसुलभमा उत्पादनगरि आम नागरिकले सेवा पाउन सक्नेथिए ।‘आफ्नो उद्योगमा कुनै बेला २ सय ५० जनासम्मलाई रोजगारी दिएको बताउदै प्रेमकुमारी पुनले अहिले पनि १०÷१२ जनालाई निरन्तर राखिरहेको छु, उनले भनिन् ।उद्यमी प्रेमकुमारीले भनिन्,–‘यसरी सबैजनालाई उद्योग, कलकारखान, व्यवसायमा लाग्नलाई राज्यले उत्पे्ररणा दिने हो भने सवै नेपाली आफ्नो पसिना आफ्नै देशमा बगाउछौं, हामी पनि बन्छौ, देश पनि बन्छ । तब मात्र हाम्रो देशको दिगो विकास र समृद्धि हुन्छ ।’

Leave a Reply