नेपाल गन्तव्यबारे चीनमा तीव्र प्रचारप्रसार

0

भ्रमण वर्ष २०२० भ्रमण बर्ष नजिकदैँ गर्दा प्रचार प्रसार पनि बढ्दै गएको छ । यही क्रममा चीनको राजधानी बेइजिङमा ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ ले विगत चार महीनादेखि नेपालको वनस्पितिको विविधता, लगानीको वातावरण सिर्जनासँगै पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरिरहेको हो ।

‘बेइजिङ एक्स्पो–२०१९’ को विश्व प्रदर्शनीमा कम्पनीले आगन्तुकलाई नेपाल भ्रमण वर्षबारे जानकारी दिँदै आएको छ । त्यसका लागि एक्स्पोमा छुट्टै डेक्ससमेत राखिएको छ । इम्प्लिमेन्टिङ ग्रुपले नेपाली मण्डपमार्फत नेपालको वनस्पति, लगानीका क्षेत्र तथा पर्यटकीय सम्भावनाबारे प्रवर्द्धन गरिरहेको एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिए। ‘हरित जीवनः उत्तम जीवन’ भन्ने मूल विषयवस्तुमा केन्द्रित उक्त प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अनन्योन्याश्रित सम्बन्धलाई प्रचार गरिएको छ।

विश्वभर नियमितरुपमा एक्स्पो भइरहे पनि चीनमा भइरहेको एक्स्पोको विशेष महत्व रहने संयोजक शाहको भनाइ छ। उनका अनुसार एक्स्पोका विभिन्न तह रहने भएकाले चीनमा भइरहेको ‘बी’ लेभलको हो । आगामी वर्ष दुबईमा हुन लागेको एक्स्पो ‘ए’ लेभलको हो । एक्सपो कुनैपनि व्यापार मेला नभई एउटा देशमा भएको विषयवस्तुको जानकारी दिई त्यसमा लगानीकर्तालाई आकर्षण गर्ने उपयुक्त थलो भएको बताइन्छ ।

चीनमा चलिरहेको एक्स्पोमा नेपालमा रहेका वनस्पतिको परिचय गराउने, विशेषताको जानकारी गराउने र लगानीको वातावरणबारे जानकारी दिने काम भइरहेको छ । चीनमा हुने अधिकांश औषधि जडीबुटीमार्फत बनाइने गरिएकाले नेपालमा उनीहरुको विशेष चासो हुने अपेक्षा कम्पनीको छ।

आगामी कात्तिक महीनासम्म चल्ने सो एक्स्पोकोे १६ करोड व्यक्तिले प्रत्यक्ष तथा विश्वव्यापीरुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रत्यक्षरुपमा अवलोकन गर्ने बताइन्छ । हालसम्म नेपाल मण्डपमा १५ लाखभन्दा बढी दर्शकले अवलोकन गरिसकेका संयोजक शाहले बताए।

Leave a Reply