भोटेकोसीको बाढीले रसुवाको बेलिब्रिज बगायो

0

अविरल वर्षापछि आइतबार एक्कासि भोटेकोसी नदीमा आएको बाढीले रसुवामा बेलिब्रिज बगाएको छ ।

जसको कारण टिमुरे भन्सार कार्यालय सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ जाने बेलिब्रिज बगाएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले एक्कासि नदीमा आएको बाढीले सडक कटान गरेपछि बेलिब्रिज बगाएको जानकारी दिए ।

बाढीले रसुवा भन्सार र जलविद्युत् आयोजनाको सामान बोक्न प्रयोग हुँदै आएका करिब ३ दर्जन गाडी जोखिममा परेका थिए । तर, प्रशासनको पहलमा राति नै नदी किनाराका गाडी सुरक्षित स्थानमा सारिएकाले थप क्षति हुनबाट जोगिएको छ ।

पुल बाढीले बगाएपछि रसुवागढी सुख्खा बन्दरगाहबाट रसुवागढी जलविद्युत् आयोजनातर्फ आवतजावत गर्ने सहायक मार्ग सम्पर्क विच्छेद भएको छ ।

नदीमा बहाव बढेपछि स्वाफ्रुबेसी, गुमचेत, मैलुङ, पहिरोबेसी, शान्तिबजारदेखि खाल्डेसम्मका वस्ती जोखिममा परेपछि त्यहाँका बासिन्दालाई राति नै सुरक्षित स्थानमा सारेको थियो ।

सशस्त्र प्रहरी २१ नम्बर गुल्म टिमुरेका प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार भोटेकोशीमा पानीको बहाव अत्यधिक बढेपछि नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply