आफ्नै सोचले निरन्तर अघि बढिरहें

0

सुरुमा आफ्नो जन्मथलो खोटाङको हलेसी तुवाचुङ नगरपालिका सल्लेमा रेडियो–घडी तथा अन्य इलेक्ट्रोनिक्स सामानको व्यापार, इलेक्ट्रोनिक्स सामान मर्मत गर्ने प्रशिक्षण केन्द्र, सौर्य ऊर्जा र हाइभिजन फिल्म हल हुँदै काठमाडौंमा विभिन्न किसिमको मल्टी बिजनेस गरी मुलुकको व्यावसायिक क्षेत्रमा हात हालेका ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडर (किसन राई) अहिले सफल व्यवसायीका रूपमा स्थापित भइसकेका छन ।
उनले अहिले मुलुकको धेरै क्षेत्रमा लगानी विविधिकरण गरिरहेका छन् । यसैगरी, उनले काठमाडौंलगायत मुलुकभरका केही स्थानमा सूचना प्रविधिसँगै होटल, रेस्टुरेन्ट, क्लब , फाइनान्स र रियलस्टेटको व्यवसाय सञ्चालन गरिरहेका छन् । पछिल्लो समय उनले काठमाडौंको दरबारमार्गस्थित ग्लोबल कि टेक्नोलोजी प्रालिमार्फत रिचार्जर नामक एप्स निर्माण गरी आमनेपाली उपभोक्तालाई आफ्नो सेवा प्रदान गरिरहेका छन् ।
रिचार्जर भनेको यस्तो सूचना प्रविधि एवं अनलाइन व्यापार हो । यस एप्सबाट धेरै नेपाली उपभोक्ताले सहुलियत शुल्कमा लाभ लिइरहेका छन् । रिचार्जर, ई–कमर्स र अनलाइन पेमेन्ट प्रणालीको फ्युजन हो । उनले अहिलेको युवा पुस्तालगायत सबैले रुचाइरहेको र खोजिरहेको बजारको राम्रो अध्ययन गरी रिचार्जर नामक मोबाइल एप्स बनाएका हुन् । उनले विशेष गरी युवा जनशक्तिलाई आफ्नो कामप्रति व्यस्त बनाई उनीहरूको दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले यस्तो एप्स निर्माण गरी आफ्नो सेवा प्रदान गरिरहेका छन् ।

सानै उमेरदेखि ग्याजेट्सको फ्यान ग्लाइडरले मोबाइलको व्यवसाय सञ्चालन गरेको पनि करिब एक दशकभन्दा बढी भइसकेको छ । जसका कारण अहिले उनी प्रतिष्ठित सफल व्यवसायी भएका छन् । आफ्नो हजुरबुबा र बुबाले सञ्चालन गर्दै आएको पुख्यौली कपडालगायत विभिन्न वस्तु बिक्री गर्ने पसलको कारोबारभन्दा भिन्दै व्यवसाय थालनी गरी निरन्तर अघि बढिरहेका युवा व्यवसायी ग्लाइडरले सबैभन्दा पहिले आफ्नो गाउँमा हलेसी दर्शन सर्भिस सेन्टर खोलेका थिए । त्यसपछि सौर्य ऊर्जा सोलार सिस्टम र चाँदनी हाइभिजन फिल्म हललगायत सञ्चालन गर्दै काठमाडांै आएपछि उनले सबैभन्दा पहिले कीर्तिपुरमा लोटस मोबाइल सुरु गरेका थिए । त्यसपछि उनको लगानीमा सञ्चालित व्यवसायहरूमा न्युरोडको दि वल्र्ड भिजन मोबाइल सेन्टर, न्युरोडकै सिटी टप भिजन, सीटीभी मोबाइल कम्पनी, ६० मिनेटमा सर्भिस दिने सीटीभी केयर, टप फाइभ कम्पनी, चाबहिलको केएल मोबाइल हब, सुनधाराको सीटीसी मोबाइल हब, न्युरोडको युवा विकास मल्टिप्रपोज कोओपरेटिभ, पोखराको पोखरा दरबार रेस्टुरेन्ट, दरबारमार्गको किंग्स लाउन्स बार रेस्टुरेन्ट, बालुवाटारको रोयल इम्पायर बुटिक होटल, सस्तोमा घरजग्गा खरिद–बिक्री केन्द्र प्रालि र ग्लोबल कि टेक्नोलोजी प्रालि रहेको छ । ग्लोबल कि टेक्नोलोजीले आयात निर्यातलगायत अहिलेको अत्याधुनिक सूचना प्रविधिसम्बन्धी सम्पूर्ण काम गर्दै आएको छ । उनको यस्तो मल्टी व्यवसायले निरन्तर सफलताको सिँढी चढ्दै छ । निरन्तरको आफ्नो मेहेनतबाट सफलता हासिल गरेका उनै ग्लाइडरले आफ्नो सफलताको कथा यसरी सुनाए :

खोटाङको हलेसीमा जन्मिएँ

म तीन दशकअघि खोटाङको हलेसी तुवाचुङ नगरपालिका सल्लेमा जन्मिएको हुँ । म बुबा मधुवर्ण राई र आमा शरणकुमारी राईको कान्छो छोरा हुँ । मेरा अन्य चार जना दाजुहरू पनि व्यापारी नै हुनुहुन्छ । हामी पाँच भाइ छोरामध्ये अहिले जेठो दाइ बितिसक्नुभएको छ । मेरो हजुरबुबाको नाम नन्दबहादुर राई हो । मेरो बुबा पनि व्यापारी नै हुनुहुन्छ । बुबाले त्यहाँको भूगोल हेरेर कपडा सुनलगायत सबै खालको व्यापार गर्नुभएको थियो । त्यसभन्दा अघि मेरो हजुरबुबाले पनि व्यापार नै सुरु गर्नुभएको थियो । मेरो बाल्य जीवन गाउँमै बितेको थियो । मैले २०५४ सालमा हलेसीकै श्री जनचेतना माविबाट एसएलसी उत्तीर्ण गरें । त्यसपछि आफ्नो व्यापारसँगै मैले थप उच्च शिक्षा हासिल गरेको हुँ ।

प्रविधि र समय पछ्याउने मान्छे हुँ

म प्रविधि र समयलाई पछ्याउने मान्छे हुँ । त्यसैले, मैले सानो उमेरदेखि नै आफ्नो गाउँ हलेसीको सल्लेमा सबैभन्दा पहिले ‘हलेसी दर्शन सर्भिस सेन्टर’ खोलेर रेडियो–घडी तथा अन्य इलेक्ट्रोनिक्स सामानको व्यापार सुरु गरेको थिएँ । त्यसबेला मैले करिब १ लाख रुपैयाँबाट त्यो व्यवसाय सुरु गरेको थिएँ । त्यसपछि मैलै सौर्य ऊर्जा सोलार सिस्टम र चाँदनी चलचित्र मन्दिर सञ्चालन गरेको थिएँ । त्यसबेला करिब डेढ वर्ष चलाएर अहिले आफ्नै मान्छेलाई सञ्चालन गर्न दिएको त्यो चलचित्र मन्दिर मैले आफ्नो व्यवसायको पहिलो कमाइबाट जग्गा किनेर बनाएको चलचित्र मन्दिर थियो । २०५८ देखि २०६२ सालसम्म मैलै खोटाङलाई नै आधार बनाएर हरेक किसिमका व्यवसाय गरेको थिएँ । म ग्याजेट्सको फ्यान भएकाले त्यसपछि काठमाडांै आएर मैले सबैभन्दा पहिले कीर्तिपुरमा लोटस मोबाइल सुरु गरें ।

त्यससँगै मैले न्युरोर्डको दि वल्र्ड भिजन मोबाइल सेन्टर, न्युरोडकै सिटी टप भिजन, सीटीभी मोबाइल कम्पनी, ६० मिनेटमा सर्भिस दिने सीटीभी केयर, टप फाइभ कम्पनी, चाबहिलको केएल मोबाइल हब, सुन्धाराको सीटीसी मोबाइल हब, न्युरोडको युवा विकास मल्टिप्रपोज कोओपरेटिभ, पोखराको पोखरा दरबार रेस्टुरेन्ट, दरबारमार्गको किंग्स लाउन्स बार रेस्टुरेन्ट, बालुवाटारको रोयल इम्पायर बुटिक होटल, सस्तोमा घरजग्गा खरिद–बिक्री केन्द्र प्रालि र ग्लोबल कि टेक्नोलोजी प्रालिमा लगानी विस्तार गरेको छु । अहिले म सबैभन्दा बढी ग्लोबल कि टेक्नोलोजी प्रालिमार्फत रिचार्जर नामक एप्स निर्माण गरी आमनेपाली उपभोक्तालाई आफ्नो सेवा प्रदान गर्नमा नै बढी केन्द्रित छु । रिचार्जर भनेको यस्तो सूचना प्रविधि एवं अनलाइन व्यापार हो । यस एप्सबाट धेरै नेपाली उपभोक्ताले सहुलियत शुल्कमा लाभ लिइरहेका छन् । रिचार्जर इकमर्स र अनलाइन पेमेन्ट प्रणालीको फ्युजन हो । हाम्रो यस ग्लोबल कि टेक्नोलोजीले अहिले रिचार्जर एप्समार्फत हुने विविध अनलाइन सेवालगायत आयात निर्यातको काम गर्दै आएको छ ।

काठमाडौंका धेरै ठाउँमा मोबाइलको आउटलेट छ

अहिले हाम्रो सुनधारा, चाबहिलको केएल टावर, दरबारमार्ग, न्युरोडको ताम्राकार हाउसमा मोबाइलको आउटलेट छ । मैले मोबाइल व्यवसायमा करिब एक दशक भन्दाबढी समयदेखि काम गरिरहेको छु । सुरुमा मैले मोबाइलको व्यापार थाल्दा उपभोक्ता मोबाइल किन्न पसल–पसल भौतारिनुपर्ने बाध्यता थियो । ग्राहकको माग र भावना बुझेर सबै प्याकेज एकै ठाउँमा हुनुपर्छ भनेर मैले मोबाइलको काम सुरु गरेको थिए । त्यतिबेला म एकै ठाउँमा सबै ब्रान्डका मोबाइल दिन सके राम्रो हुन्छ भन्ने नयाँ अवधारणा लिएर आएको थिएँ । अहिले हामीले प्रत्यक्ष रूपमा २ सय जनालाई रोजगारी दिएका छौं ।

असल र सफल व्यापारी बन्न भाग्यले पनि फरक पार्छ । असल र सफल व्यापारी बन्नु भनेको हाइवेको पिचजस्तै हो । जहाँ साइकल, मोटर, गोरुगाडा, भैसी बोक्ने ट्रकलगायत विभिन्न सवारी साधन गुढिरहेका हुन्छन् । व्यापार गर्दा धेरै समस्या र चुनौतीहरू आइपर्दछन् ।
त्यसलाई सामना गर्दै जान निकै संघर्ष गर्नुपर्ने हुन्छ । अझै हाम्रो देशमा त अन्य मुलुकको जस्तो लगानीको वातावरण छैन । सफल व्यवसायी हुन धेरै कठिनाइ भोग्नुपर्छ । कठिन भयो भनेर त्यसै डराएर बस्नुहुँदैन । जसले सपना नै देख्दैन, उसलाई केही समस्या छैन । तर, ठूलो सपना देख्ने मान्छे जीवनमा धैरैपटक मोरेर बाँच्नुपर्छ । कठिनाइसँग फेस गर्दा यस्तो गर्नुपर्छ । म सफल हुन प्रयास गरिरहेको मान्छे हुँ । त्यसैले, अहिले म यो अवस्थामा आइपुगेको छु ।

आफ्नै सोचले यहाँ आइपुगें

अहिलेको यस अवस्थासम्म आइपुग्नुमा प्रेरणाको स्रोत भन्ने मेरो जीवनमा कोही पनि छैन । म सुरुमा कसैको प्रेरणाले होइन, आफैंले व्यवसाय गर्नुपर्छ भन्ने सोच बनाएर अघि बढेको मान्छे हुँ । सुरुमा मैले आफ्नो गाउँ खोटाङमा हुँदा पनि धेरै क्षेत्रको व्यवसाय गरेको थिएँ ।
त्यसपछि काठमाडौं आएपछि समयको मागलाई हेरेर अहिले म यस क्षेत्रमा आएको हुँ । मैले सानै उमेरदेखि नयाँ काम गर्ने सोचकासाथ व्यवसायलाई रोजेको हुँ । मेरो पहिलो व्यवसाय १ लाख रुपैयाँ लगानीबाट आफ्नै गाउँमा रेडियो, घडी, इलेक्ट्रोनिक्स पसल नै थियो । त्यसपछि सोलार सिस्टम, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा आफ्नो गाउँघर, खोटाङ जिल्ला हुँदै त्यस वरिपरिका तीनवटा जिल्लामा सोलार सिस्टमको काम गरेको थिएँ । त्यसपछि मैले चाँदनी चलचित्र मन्दिर हुँदै मोबाइल बिक्री तथा सभिर्सिङ सेवासम्बन्धी कम्पनी, रियसस्टेट, होटल तथा रेस्टुरेन्ट व्यवसाय र क्लब पनि सञ्चालनमा ल्याएको छु । मैले आफ्नो जन्मथलो खोटाङलगायत नजिकका केही जिल्लामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदानमा सोलारको व्यापार पनि गरें । त्यसपछि बजारको मागअनुसार विभिन्न व्यवसाय गरी अहिलेको अवस्थामा आइपुग्न सफल भएको छु ।

प्रस्तुति : मधुजंग पाण्डे

Leave a Reply