खरिद योजनाको तयारी

0

दिनेश लम्साल

सामान्यतयाः कुनै पनि वस्तु वा सेवाको प्राप्ति, निर्माण वा मर्मतकार्य गराउनका लागि आवधिकरुपमा तयार गरीने योजनालाई खरिद योजना भनेर बुझिन्छ ।  अर्को अर्थमा खरिद गर्नु अघि तयार गरिने एक कागजात विवरण हो जसले खरिद कार्यहरुको क्रमबद्घ विवरण तयार गरी खरिद कार्यको पूर्व निर्धारणको कार्य कुनै पनि खरिद गर्ने निकायले आफ्नो निकाय अन्तर्गत गरिने सम्पूर्ण खरिदसम्बन्धी क्रियाकलापहरुलाई सूचीकृत गरी सो क्रियाकलापहरु सार्वजनिक खरिद कानून अन्तर्गत चरणबद्ध रुपमा लाग्ने समयलाई ध्यानमा राखी कानूनी व्यवस्था, कार्य प्रक्रिया र आवश्यकताअनुरुप खरिद कार्यहरुको लागि तयार गरिने योजनालाई खरिद योजना यस्तो योजना निर्माण कार्य, मालसामान, परामर्श तथा अन्य सेवाको समग्र रुपमा तयार पारिन्छ ।
सार्वजनिक खरिद ऐन, २०६४ को दफा ६ अनुसार सार्वजनिक निकायले तोकिएको सीमा भन्दा बढी रकमको खरिद गर्दा तोकिए बमोजिम खरिदको गुरु योजना ( मास्टर प्रोक्युरमेन्ट प्लान ) र वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था गरेको छ । सार्वजनिक खरिद ऐन, २०६४ को दफा ७ अनुसार खरिद योजना तयार गर्ने तथा ऐन बमोजिमको कार्यविधि पूरा गरी खरिदसम्बन्धी अन्य सबै कार्य गर्ने वा गराउने जिम्मेवारी सार्वजनिक निकायको  प्रमुखको हुनेछ । सार्वजनिक निकायले खरिदसम्बन्धी कार्य गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्धारण गरेको योग्यता भएको र खरिद कार्य सम्बन्धी ज्ञान भएको वा तालीम प्राप्त गरेको कर्मचारीबाट गराउनु पर्ने व्यवस्था गरेको छ ।
खरिद योजना तयार गर्दा ध्यान दिनुपर्ने कुराहरु
खरिद योजना तयार गर्दा सबैभन्दा पहिले सो को ढाँचाको बारेमा जानकारी हुन जरुरी हुन्छ यसका लागी सामान्यतयाः सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाईट https://ppmo.gov.np/forms_and_formats  मा गई खरिद गुरु योजना र वार्षिक खरिद योजनाको ढाँचा डाउनलोड गर्न सकिन्छ । यस्तो ढाँचा अर्थ मन्त्रालयले प्रकाशन गरेको बजेट तर्जुमा दिग्दर्शन, २०७५ (आठौ संस्करण) मा पनि उल्लेखित खरिद गुरु योजना र वार्षिक खरिद योजनाको ढाँचा उल्लेख भएकोले सो ढाँचा अनुसार तयार गर्नु पर्दछ । दातृ निकायहरुको ( विशेष गरी विश्व बैक, एशियाली विकास बैक ) छुट्टै व्यवस्था भए दातृ निकायहरुको आवश्यकता र उल्लेखित ढाँचा अनुसार यस्तो खरिद योजना तयार गनुृ पर्ने हुन्छ । गुरु खरिद योजना (कार्य अवधि (वहुबर्षीय), लागत रकम (दश करोड माथि) र कुनै नयां आयोजना शुरु गर्ने समयलाई आधार लिइ कुनै कार्यक्रममा उल्लेख भएको काम (मालसामान, निर्माण कार्य, परामर्श आदि) को खरिद कार्यको विवरण तयार गरी खरिद कार्यको प्रकृति मध्ये एकै प्रकृतिको काम (जस्तै मालसामानमा पनि मसलन्द, फर्निचर, कम्प्यूटर आदि) छुट्याउनु पर्दछ । यसैगरी खरिद कार्य एकै वा फरक प्रकृतिको भएपनि आवश्यकता पर्ने समय ( कुन काम पहिले गर्ने वा कुन काम पछि कुन काम गर्ने) कोे चरणका साथसाथै आवश्यकताको आधारमा खरिदका चरण र प्याकेज बनाउने (फर्निचर आदि) र प्रत्येक प्याकेजको आधारमा लागत अनुमान तयार गर्ने साथै प्रत्येक कामको लागत अनुमान मुख्य रुपले र अन्य आधार ( समय अत्यावश्यक परिस्थिति) ध्यानमा राखि खरिद विधि ( बोलपत्र, दरभाउपत्र, सोझै खरिद, उपभोक्ता समिति, आदि,)  एकिन गर्नुपर्ने हुन्छ । यति कार्य भइसकेपछि खरिद विधिको आधारमा बोलपत्र, दरभाउपत्र, प्रस्ताब आदिको कागजातको प्रकृति एकिन गर्ने र त्यसपछि प्रत्येक विधि अनुसार उक्त प्याकेजको त्यसपछि कार्यसम्पन्न नहुंदासम्मको समयावधि (कार्यालयको कार्यपद्दति तथा अभ्यास समेत ध्यानमा राखि) निश्चित गर्नुपर्दछ ।
खरिद योजना तयार गर्दा उपरोक्त विषयका अलावा देहायका विषयहरुमा समेत ध्यान दिनुपर्दछ जसको  फलस्वरुप खरिद योजना कार्यान्वयन योग्य र विश्वसनीय बन्न जान्छ ः
१. अपेक्षित उपलब्धी दिमागमा राखेर शुरु गर्नु पर्दछ (आवश्यक मालसामान, विशेषज्ञ सेवाको प्रकार, सडक निर्माण आदि),
२. आवश्यकताको पहिचान गर्ने शुरुको समय देखि नै खरिदसम्बन्धी ज्ञान भएको अनुभवी पेशाविदको सहयोग लिनु पर्दछ,
३. खरिद आवश्यकतासँग सम्बन्धीत बहुविभागीय पदाधिकारीहरुको संयुक्त कार्यदलको निर्माण गर्नु पर्ने,
४. बजेट विनियोजनको विश्वस्तता हुनु पर्दछ,
५. प्राविधिक विवरण विकास गर्न वा कार्यक्षेत्रगत शर्त विकास गर्न प्राविधिक सहायताको आवश्यकता भए नभएको एकीन गर्नु पर्छ,
६. अरु खरिद आवश्यकतामा भर पर्ने वा नपर्ने कुराको पहिचान गर्नु पर्ने,
७. बजारमा उपलब्ध हुने वा नहुने निश्चित गरिनु पर्छ,
८. मिल्दो जुल्दो आवश्यकता एकत्रीत गर्ने कुरा हेर्नु आवश्यक,
९. खरिद विधिको निश्चितता गरेर करार सम्झौता गर्ने अपेक्षित मिति वास्तविक बनाउनु पर्छ  आदि ।
खरिद कारवाहीको समय तालिका
खरिद योजना तयार गर्ने क्रममा सबैभन्दा गल्ती हुने विषयमध्ये प्रमुख विषय नै समय तालिकालाई क्रमबद्ध र कानुनी मान्यतायुक्त बनाउन नसक्नु हो र यसमै सवै अल्झेर वस्दा धरैको खरिद योजना नबने वा बनेपनि अधुरो अपुरो रहेको हुन्छ तसर्थ खरिद योजनाको मुख्य कडिका रुपमा यहाँ उल्लेख गरीने खरिद कारवाहीको प्रत्येक चरणमा लाग्ने समयको अनमान गर्न सक्नुपर्छ । यसमा खासगरी खरिदको प्राविधिक विवरण (स्पेशीफीकेशन)  तथा लागत अनुमान तयार गर्ने समय तथा कामको प्रकृति अनुसार उल्लेख गर्ने निम्न कार्यहरुको समयावधीमा विशेष ध्यान पुर्याउनुपर्दछ जुन सार्वजनिक खरिद कानुनले दिशानिर्देश गरेको हुन्छ ।
  •  बोलपत्र वा प्रस्ताव कागजात तयार गर्ने (अवस्था, आयतन हेरी कार्यालयको अभ्यास समेत हेर्ने ),
  • सूचना प्रकाशन गर्ने मिति (पत्रिकामा प्रकाशन हुने दिन प्रस्ताव बोलपत्र खोल्ने र पेश गर्ने ( सूचना प्रकाशन गर्ने दिन समेत गणना गरी  दरभाउपत्र १५ दिन, राष्टिय बोलपत्र वा प्रस्ताव आव्हान ३० दिन, अन्तरराष्टिय बोलपत्र वा प्रस्ताव आव्हान ४५ दिन ),
  •  प्रस्ताव । बोलपत्र मूल्याङ्कन गर्ने, ( काम शुरु गरेको १५ दिन भित्र),
  •  प्रस्ताव । बोलपत्र स्वीकृति गर्ने, ( स्वीकृत भएको ७ दिन आशय पत्र र थप १५ दिन संझौताको लागि),
  •  सम्झौता गर्ने, ( बोलपत्र मान्य अवधि ९० र १२० दिन भित्र )
  •  कार्य आरम्भ गर्ने (सामान्यतयाः ७ दिन भित्र कामको प्रकृति पनि ध्यान दिने ),
  •  कार्य पूरा गर्ने ( लागत अनुमानमा उल्लेखित समय अनुसार ) ।
समूह विभाजन र प्याकेजिँग 
सार्वजनिक निकायले खरिद कार्यको प्याकेजिङ्ग गर्दा खरिद गुरुयोजनामा उल्लिखित प्याकेज सङ्ख्याको प्रतिकूल नहुने गरी गर्नु पर्ने एबम् खरिदलाई बढी सुविधाजनक समूहमा विभाजन गर्ने वा प्याकेजमा समावेश गर्ने गरी तयारी गर्दा अलग अलग रुपमा सम्पन्न गर्न सकिने प्रकृतिको निर्माण कार्यका लागि अधिकतम प्रतिस्पर्धा हुने हदसम्म छुट्टा छुट्टै रुपमा बोलपत्र आव्हान गर्नु पर्ने साथै एक आपसमा अन्तर सम्बन्धित भई एउटै प्याकेजमा सञ्चालन गर्नु पर्ने भएमा बाहेक प्रतिस्पर्धालाई सङ्कुचित र सीमित गर्ने गरी ठूला ठूला प्याकेज बनाई बोलपत्र आव्हान गर्नु नहुने व्यवस्था थप गरेको छ । सामान्यतयाः खरिद विधि छनौट गर्दा तोकिएको कुनै खरिद कार्यलाई टुक्रा टुक्रा गरी गर्न नपाईने  उल्लेखित खरिद कानूनको प्रावधान बमोजिम गर्नुपर्ने हुन्छ । यसका अलावा देहायका विषयहरुमा समेत ध्यान पुर्याउनु पर्दछ ः
  • राष्ट्रिय येाजना आयोग वा मन्त्रालयबाट स्वीकृत भएको कार्यक्रम
  • खरिद महाशाखाहरुबाट संकलित माग तथा आवश्यकता अनुसार मालसामानको प्रकृति (समानता वा फरक),
  •  खरिद कार्यको प्रकृति फरक भएपनि एक अर्कासंग तादाम्यता कायम गरी सम्पादन गर्नु पर्ने कार्य प्रकृया (परामर्शदाता र कम्प्युटर सामान खरिद, मेशिन आपूर्ति र जडानसम्बन्धी कार्य, भवन निर्माण तथा बिजुली सामान आपूर्ति आदि),
  •  एउटै प्रकृतिको काम भए पनि खरिद कार्य सम्पन्न हुनु पर्ने फरक समय र अवधि,
  •  खरिद सम्झौताको प्रकृति (टर्न की, निर्माण स्वामित्व र संचालन आदि ),
  •  प्राविधिक रुपमा फरक भएपनि एकै समूहमा सम्पन्न गर्ने अवस्था (सडक र पुल),
  •  बजेट रकमको सीमा तथा खरिद गर्न सकिने अधिकतम सीमा ।
लागत अनुमान : बजेट वा लागतको आधारमा
हालको खरिद कानुनले गरेको व्यवस्था अनुसार  सबै खरिद कार्य अर्थात मालसामान, निर्माण कार्य, परामर्श सेवा तथा अन्य सेवा) को लागि लागत अनुमान अनिवार्य गरेको छ । साथै  स्वीकृत भएको लागत अनुमान अनुसार खरिद नभएमा सार्वजनिक खरिद नियमावली २०६४ को प्रकृया अपनाई प्रत्येक आर्थिक वर्षमा अध्यावधिक गर्नु पर्ने, लागत अनुमान अद्यावद्यिक नगरी सिलबन्दी दरभाउपत्र र बोलपत्र आह्वान गर्न वा परामर्श सेवाको प्रस्ताव माग गर्न नपाउने व्यवस्था गर्दै निर्माण कार्य बाहेक रु १,००,००० सम्म लागत अनुमान आवश्यक नपर्ने गरी केही छुट वा सुविधा कानुनले गरेको छ । यसरी खरिद योजना तयार गर्दा सकेसम्म लागत निश्चित गरेर गर्नुपर्ने  हुन्छ जसको आधार ठुला योजनाका हकमा खरिद गुरु योजना प्रमुख हुन सक्छ भने अन्यका हकमा भने कार्यप्रगति र अनुमानीत बजेट वा सम्वन्धित सार्वजनिक निकायले स्वीकृत गरेको नम्र्स र स्ट्याण्डर्डका आधारमा समेत निर्धारण गर्न सकिन्छ ।
खरिद विधि छनौट
खरिद योजनामा अधिक महत्वका साथ सुनिश्चित गर्नुपर्ने विषयमा यो खरिद विधिको छनोट पनि एक हो । यसवाटै हामीले गरेको कामको मुल्यांकन पनि हुन्छ । हामीले एक विधीवाट खरिद कार्य गर्ने भनी सुनिश्चित गरीसकेपछि फेरी अर्को विधीवाट तोडमरोड गरी खरिद कार्य गर्दा सबैभन्दा अविवेकी कार्य हुन जान्छ । जस्तो कि दुई करोड रुपैयाँसम्मको निर्माण कार्यको खरिद भन्दा बाहेकको अन्य खरिदमा बोलपत्र योग्यता वा पूर्वयोग्यताको कारबाही गर्नु पर्ने वा नपर्ने कुरा यकिन गर्ने विषय, निर्माण कार्य, मालसामान खरिद र अन्य सेवाको लागि एक प्रकारको र परामर्श सेवाको लागि छुट्टै विधि हुन सक्ने विषय सुनिश्चित गरी मात्र खरिद योजना तयार गर्नुपर्दछ ।
साथै खरिद विधि छनौट गर्दा खरिद कार्यको प्रकृति, खरिद मूल्यको सीमा (लागत अनुमानको आधारमा), खरिद गर्ने अवस्था र समय, आपूर्तिकर्ताको उपलब्धता, विशेष परिस्थितिको खरिद, दातृनिकायको खरिद मार्गदर्शन जस्ता विषयहरुमा ध्यान दिनु पर्दछ ।
मालसामान, निर्माण कार्य वा अन्य सेवा खरिदका लागी सुरक्षा तथा सामरिक महत्वका अवस्थाहरु, खरिद कार्य सम्पादन गर्नु पर्ने समय तालिका आदि समेतका आधारमा खुल्ला बोलपत्र आहृवानः राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तर (२०  लाख भन्दा बढी), सिलबन्दी दरभाउपत्र आहृवान  (२०  लाखसम्म), सोझै खरिद (५ लाखसम्म, एकल श्रोतमा रकमको सीमा बढी हुन सक्ने), उपभोक्ता समिति वा लाभग्राही समुदाय ः ( १ करोडसम्म) , अमानत ( सामान्य प्रकृतिको मर्मत सम्भार, सानातिना नियमित कार्य वा सरसफाई जस्ता कार्यहरु), विशेष परिस्थितिमा गरिने खरिद, गैर सरकारीसंस्था ( जनचेतना तालीम, अभिमुखीकरण, सबलिकरण, मूल प्रवाहीकरण, छिटो, छरितो, प्रभावकारी र मितव्ययी हुने भएमाआदि) आदी खरिद विधि  अवलम्वन गर्न सकिन्छ भने परामर्श सेवा खरिद कार्यका लागी प्रतिस्पर्धात्मक प्रस्ताव विधि  जसमा लागत तथा गुणस्तर विधि, गुणस्तर विधि, निश्चीत बजेट विधि, तथा न्यूनतम लागत विधि मध्ये कुनै एक विधि प्रयोग गर्न सकिन्छ । यस्तो प्रतिस्पर्धात्मक प्रस्ताव विधि पनि लागतका आधारमा निम्नानुसारका प्रस्ताव माग गरी खरिद कार्य गर्न सकिन्छ ः
  •  ५ देखि २० लाखसम्म मौजुदासूची मध्येबाट आर्थिक प्राविधिक प्रस्ताव माग
  • १० करोड राष्ट्रिय प्रस्ताव,
  • १० करोड माथि सामान्यतः अन्तरराष्ट्रिय प्रस्ताव
 त्यसै गरी परामर्श सेवा खरिदमा पनि सोझै वार्ता (व्यक्तिगत समेत ) द्धारा सोझै खरिद (५ लाख सम्म) तथा  तालिम सेमिनार आदि वार्ताबाट (५ लाख र सो रकम भन्दा माथि एक तहमाथिको स्वीकृती लिएर) र उच्च स्तरको बिशेषज्ञता, नियुक्त गर्ने समय न्यून भएमा, केही परामर्शदाता मात्र योग्य भएमा, छनौट गर्न धेरै समय लाग्ने भई समय अप्रयाप्त भएमा अन्य विधि जस्तो विशेष योग्यताको आधारमा समेत विषेषज्ञ सेवा खरिद गर्न सकिने हँुदा सोही अनुसारकै खरिद योजना तयार गर्दा विधि निर्धारण गर्नुपर्दछ ।
अन्तमा खरिद कानुनले मार्गदर्शन गरेबमोजिम तोकिएको ढाँचा प्रयोग गरेर खरिद योजना ( बार्षिक वा खरिद गुरु योजना ) बनाउन सजिलै सकिन्छ  तापनि हामी किन  यसप्रति नकारात्मक वा यो बनाउन गाह्रो छ जस्तो गरी प्रस्तुत हुन्छौ एकपटक सोच्ने कि । तोेकिएको ढाँचाले खासगरी समयबद्धतामात्र खोजेको छ जसवाट हामी के काम गर्न खोजेका हुन्छौ सो काम समयमै गुणस्तरीय होस भन्ने प्रमुख उद्देश्य मात्र होइन र । तसर्थ माथी उल्लेख गरीएका विषयहरु खासगरी खरिद कारवाहीको समय व्यवस्थापन, समुह विभाजन र प्याकेजिंग गर्ने विषय, लागत अनुमान बनाउने कुरा, खरिद विधि छनौट गर्ने विषय लगायतका अन्य ध्यान दिनुपर्ने विषयमा ध्यान पुगाउन सकेमा खरिद योजना कुन चरीको नाउँ भने जस्तो हुनुपर्दैन अथात यो सजिलै तयार हुनेछ ।
सुझाव र प्रतिकृयाका लागी : [email protected]

Leave a Reply