नेपाली र विदेशी पर्यटकको रोजाइमा मनाङ (फोटो फिचर)

0

पर्यटकहरुको मन लोभ्याउने प्राकृतिक पर्दा हो मनाङ । चारैतर्फ चाँदीजस्ता हिमाललाई साक्षी राखेर बीचमा बसेको मनाङ विश्वभरका प्रकृतिप्रेमीहरुको रोजाईको गन्तव्य हो । प्रकृतिको यही अनुपम उपहारले नेपालको नाममा थप सुवास मात्र छरेको छैन, हरेक मानिसले एक पटक पुग्नै पर्ने परिचयको प्रख्याती पनि पाएको छ ।

विहान उठ्दा आँखैमा ठोक्किने सेता हिमाल मात्र नभई आँगनमा फल्ने रसिलो स्याउ, विश्वविख्यात पदयात्रा राउण्ड अन्नपूर्णको मुटु र प्राकृतिक जडिबुटीहरुको अमूल्य भण्डार पनि हो– मनाङ ।

यही आकर्षणका कारण हिमाली जिल्ला मनाङमा बार्षिकरुपमा स्वदेशी तथा विदेशी हजारौं पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार मनाङमा मोटर चल्न थालेपछि आन्तरिक पर्यटकहरुको आगमनमा उत्साहजनक बृद्धि भएको छ ।

थोराङ्ला चढ्न पर्यटक विशेष रुची राख्छन् । ‘यहाँ पुगेपछि पर्यटक प्रकृति देखेर खुसीका आँसु झार्छन् । भञ्ज्याङ चढ्न सफल भएकोमा साथीभाइसँग खुसी साटासाट गर्छन्,’ उनले भने । फेदमा ब्लु शीप (जंगली भेडा) हेर्न पाइन्छ । नार र फूमा कस्तुरी र नाउर भेटिन्छन् । जडीबुटी, फूल र जैविक विविधतामा पनि मनाङ धनी छ ।

हिउँ पग्लिएर बनेको पहाड हेरेर पर्यटक लोभिन्छन् । हिमाल हेरेपछि दंग पर्छन् । वातावरण, रहनसहन, हिमाली हावाको सुगन्ध र एकान्तले उनीहरु प्रकृतिमा हराउँछन् । ‘कोही थोराङ चढ्छन् । कोही यहीँ १ २ महिना बस्छन्,’ पर्यटनव्यसायी विनोद गुरूङले भने, ‘अनेकन खालका पर्यटक आउँछन् । उनीहरु जीवन र प्रकृतिलाई बुझ्छन् र फर्कन्छन् ।’ धेरैले प्रकृति, जनजीवन र रहनसहनलाई शोध र अनुसन्धानको विषय बनाएका छन् ।

उनका अनुसार मनाङ पदयात्रीका लागि आकर्षणको केन्द्र हो । यहाँ प्रकृतिको भण्डार छ । सदाबहार देखिने हिमाल, खोलानाला र प्रकृतिले आधुनिकतालाई चुनौति दिएको छ । ‘हिमालसम्म मोटर गुडेपछि विश्वको १० उत्कृष्ट पदमार्गबाट हट्यो,’ उनले भने, ‘मोटर आएपनि बिग्रिएको केही छैन । जे छन्, यसको प्रचारप्रसार अझै हुन सकेको छैन ।’

Leave a Reply