नक्कली भ्याट बिलमार्फत कर छलि गर्ने विरुद्ध मुद्दा, यी हुन छलि गर्ने व्यापारिक फर्म

0

राजस्व अनुसन्धान विभागले दस अर्बको नक्कली भ्याट बिल खरिद विक्रीमाथि अनुसन्धान तीव्र पारेको छ। यसमध्ये खरिद विक्रीमा संलग्न केही व्यापारिक फर्म र व्यक्तिमाथि मुद्दा दायर भइसकेको विभागले जनाएको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार छ अर्ब रुपैयाँ बराबरको नक्कली भ्याद बिल बेच्ने व्यापारिक फर्म र ४५ जनाविरूद्ध कारबाही भइसकेको छ। नक्कली भ्याट बिल विक्री गर्ने झन्डै सय वटा फर्म र व्यापारी छन्। राजस्व चुहावट रोक्न ९ महिनाअघिबाट विभागले नक्कली भ्याटबिलमा अनुसन्धान थालेको थियो। नक्कली भ्याट बिल विक्रीमा सय फर्म तथा व्यापारी छन् भने किन्नेको संख्या आठ सयको हाराहारी छ।

कर छली गरेको आरोपमा काभ्रेपलाञ्चोक घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने एसपी इन्टरप्राइजेज र हिमाल कन्सट्रक्सनका प्रोपाइटर शिवप्रसाद गौतमले तीन करोड ८१ लाख र रामेछाप घर भई काठमाडौँमा हार्डवेयर सञ्चालन गर्दै आएका देवबहादुर खत्रीले झण्डै तीन करोड बिगो बराबरको राजस्व छलेको भन्दै उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए।

यस्तै काभ्रेपलाञ्चको पाँचखाल– ७ घर भई काठमाडौँ महानगरपालिका ३२ बस्ने वाटरमार्क इन्टरप्राइजेजका प्रोप्राइटर शिवराम न्यौपानेले रु एक करोड ५९ लाख, काठमाडौँ महानगरपालिका– ११ बस्ने हिमालयन इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाईंले रु ६९ लाख ३९ हजार र भक्तपुर बस्ने न्यू युनिभर्सल इन्टरप्राइजेका सञ्चालक सुदर्शन चौलागाईंले रु ३० लाख ३२ हजार बिगो बराबरको कर छली गरेको आरोपमा विभागले उनीहरुविरुद्ध पनि बुधबारनै मुद्दा दर्ता गरेको छ।

Leave a Reply