गाइड हुँदै टानको अध्यक्ष बनेका सुवेदीको संघर्षको कथा

0

खुम सुबेदी, अध्यक्ष, टान
मुलुकमा दुई तिहाई बहुमत प्राप्त सरकार छ । पूर्व एमाले र पूर्व माओवादी एक हुँदा समेत चुनावी मैदानमा उत्रिएका वाम समर्थक पर्यटन व्यवसायीहरुलाई पत्तासाफ गर्दै ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) को अध्यक्ष बन्न सफल भए खुम सुवेदी ।
गत २० भदौँमा सम्पन्न पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) को ४१औँ साधारणसभा तथा महाधिवेशनबाट संस्था हाँक्ने जिम्मेवारी उनको काँधमा आएको छ । युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए ट ट्रान्सपोर्ट्का प्रबन्ध निर्देशक समेत रहेका सुवेदीले ०४९ मा ट्रेकिङ गाइडमा प्रवेश गरेका हुन् । ट्रेकिङ गाइड हुँदै पर्यटन क्षेत्रमा प्रवेश गरेका सुवेदीले टानको बरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष भएर इमान्दारिपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
प्रतिद्धन्द्धी अन्जन थापालाई ८३ मतले पछि पार्दै टानको अध्यक्ष भएका सुवेदीले ५२१ मत पाउँदा पराजित थापाले ४३८ मत ल्याएका थिए । टान निर्वाचनमा पराजित थापालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको दरिलो साथ भएपनि सुवेदीले विजयको झन्डा फहराउन सफल भएका थिए । सुवेदी तिनै व्यक्ति हुन् जस्ले ‘पदयात्राका पाइलाहरु’ र ‘बेल्जियमका क्षणहरु’ गरी दुई नियात्रा कृतिहरु समेत सावजनिक गरिसकेका छन् भने राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय स्तरबाट पनि सम्मानित भइसकेका छन् ।
५ असार २०२९ मा धादिङको ज्वालामुखी गाउँपालिका–६ मा बुबा नन्दप्रसाद सुवेदी र माता टिका कुमारी सुवेदीको कोखबाट जन्मिएका सुवेदीले नेपालको पर्यटन क्षेत्रलाई कसरी सशक्त ढंगले अघि बढाउन सकिन्छ भन्ने हेतुका साथ ४० भन्दा बढी देशको भ्रमण गरिसकेका छन् । उनी सामाजिक सेवामा समेत क्रियाशिल व्यक्ति हुन् । ह्यान्ड इन ह्यान्ड नेपाल नामक सामाजिक संस्थाका अध्यक्षसमेत रहेका उनले विकट जिल्लामा जन्मिएर संघर्ष गर्दै अध्ययनलाई पनि अघि बढाए । गाउँमा माध्यमिक तहको अध्ययन छिचोलेर उच्च अध्ययनका लागि सहर छिरेका उनै टानका सुवेदीले पर्यटन क्षेत्रको विकासका निमित्त टानभित्र गर्नुपर्ने सुधारसहितको १० बुँदे योजनाहरु संवाददाता महेश्वर गजुरेलसमक्ष सुनाएका छन् :

१. संस्थाका सम्पूर्ण सदस्यहरूमा भाइचाराको सम्बन्ध स्थापित गर्ने र सबैको सह–अस्तित्व स्वीकार गर्ने ।
२. टानलाई व्यवसायीमैत्री बनाउनका लागि आन्तरिक व्यवस्थापन चुस्त बनाउने ।
३. नयाँ प्रविधिको प्रयोग गरी टानको सचिवालयलाई अझ व्यवस्थित र दह्रो बनाउने । साथै, मितव्ययिताको सिद्धान्त अवलम्बन गर्ने ।
४. बैठकका निर्णयहरु सम्पूर्ण सदस्यहरुलाई शीघ्र एवम् पारदर्शी ढङ्गले सम्प्रेषण गर्ने ।
५. ‘ट्रेकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम टिम्स’ को सान्दर्भिकता र औचित्यलाई गहन छलफल गर्ने । साथै पूर्ववत् रूपमा यसको व्यवस्थापन कायम गर्न र गराउन सकिन्छ वा सकिँदैन भन्ने कुराको निक्र्यौल गर्ने । यदि त्यसो गर्न सकिने हो भने ‘अनलाइन सिस्टम’को व्यवस्था तत्काल मिलाउने ।
६. विशेषगरी अनाधिकृत रूपमा भइरहेको पदयात्रा व्यवसाय सञ्चालनमा तत्काल एक्सन थाल्ने ।
७. ‘नो गाइड, नो ट्रेकिङ’ को अवधारणलाई कडाइका साथ लागू गर्ने ।
८. मनास्लु र अन्नपूर्ण, सगरमाथा र गौरीशंकर, अन्नपूर्ण र मुस्ताङ क्षेत्रको पदयात्रा सञ्चालन गर्दा दुबै क्षेत्रको लागि अलग–अलग तिर्नुपर्ने प्रवेश शुल्कलाई एकद्वार प्रणालीका आधारमा एउटै अनुमति–पत्रमार्फत् पदयात्रा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन जोडदार पहल गर्ने ।
९. मजदुरहरुलाई ‘लेक लाग्ने’ समस्या सम्बन्धी आवश्यक तालिमहरुको व्यवस्था गर्ने र आपतकालिन अवस्थाहरुमा टान कार्यालयमा ‘क्राइसिस म्यानेजमेन्ट डेस्क’ खडा गरी आवस्यक सेवा उपलब्ध गराउने ।
१०. व्यवसायलाई मजदुरमैत्री बनाउँदै मजदुरहरु दुर्घटनामा पर्दा दिइने क्षतिपूर्तिलाई सहजिकरणका लागि टानको तर्फबाट सामूहिक बीमा गर्न आवश्यक पहल गर्ने ।
को हुन् सुवेदी ?


गरिब परिवारमा जन्मिएका सुवेदीको बाल्यकाल दुःखमै बित्यो । बिहान बेलुकी कुटो, कोदालो र डोको बोक्नुपथ्र्यौ । ३ घण्टाको दूरी हिँडेर स्कुल पढ्नका लागि जान्थे । यसरी नै उनको स्कुले जिवन वित्यो । ०४७ मा सालबास माविबाट एसएलसी (हाल एसइइ) उत्तीर्ण गरेर राजधानी छिरेका सुवेदीको जीवनयात्रा सुन्दा पहाडजस्तो लाग्छ । जीवनमा केही गर्छु भन्ने अठोटका साथ राजधानी प्रवेश गरेका उनलाई आमाले छिमेकीबाट सापटी लिएर काठमाडौँ पठाइदिएका थिए । आमाले दिनुभएको एक सयको नोट हातमा थमाएर मलेखुदेखि काठमाडौं सम्मको गाडी चढे । र, उनको सपनानगरी काठमाडौंको यात्रा भयो ।
काठमाडौं छिरेपछि जीवनमा नयाँ छलाङ मार्ने योजना बोकेर आएका सुेवदीले अनेक दुःख, कष्ट खेप्नुपर्यो । घरबाट पढ्नका लागि पैसा पठाउने माध्यम थिएन । केही गर्छु भन्ने हिम्मत बोकेर काठमाडौं आएर उनले कहिल्यै गाडी देखेका थिएनन् । न त काठमाडौं नै यसअघि टेकेका थिए । बिल्कुलै फरक, नयाँ, नौँलो र भिडभाड भएपनि विरक्तजस्तो लाग्ने सहरमा उनको सफलता र संघर्षको पाईला रोचक लाग्छ । राजधानी आएपछि कोठा भाडामा लिए । उच्च अध्ययनका लागि प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा भर्ना भए । ऐच्छिक विषय राजनीतिशास्त्र र अंग्रेजी लिएका उनले राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिर पाए । मामाको सहायताले जागिरमा सिफ्ट भएका उनी धादिङ जिल्लाकै दोस्रो व्यक्तिमा अटाउँछन्, जस्ले कम्प्युटर क्षेत्रमा रहेर ज्ञान बटुले । कहिल्यै कम्प्युटर नदेखेका उनलाई सुरुमा निक्कै अचम्म अनि गाह्रोझैँ भयो तर पछि साथीजस्तो । एउटा गाउँले ठिटो सहर आएर कम्प्युटर चलाउन सक्ने भएपछि उनले सोचे अब दुःखका दिनहरु सकिए । तर, जीवनको रथ कहाँ त्यत्ति सन्तुष्टिले चल्थ्यो र त्यसपछि फेरी गोल्छा अर्गनाइजेसनमा मार्केटिङमा रोजगारीका लागि भर्ना भए । रोजगारी नपाउँदाका सुरुका दिनहरुको कति रात भोकै सुते उनी सम्झन सक्दैनन् । गोल्छा अर्गनाइजेसनपछि लगनखेलेस्थित धानमिलको अकाउन्टेन्टको रुपमा कार्यभार सम्हाले । लगनखेलको धानमिलमा काम गरेँ ।
जीवनको रथ कुँदाउदै जाँदा ०४९ मा पर्यटन क्षेत्रमा प्रवेश गरे । ट्रेकिङ गाइड भएर नेपालको पर्यटन क्षेत्रको आन्द्राभुँडी बुझेका सुवेदीले घोणेपनी पुर्णेलबाट पदयात्रीको सेवा थाले । त्यसपछि एडभेन्चर यात्रा गोरखा हुँदै मनास्लु सम्म पुगे । त्यसपछि आजिवन यहिँ क्षेत्रमा जम्ने प्रण गरे । र, आज त्यो यात्राले नै उनलाई यहाँसम्म ल्याइपुर्याइदिएको छ । पदयात्री भएका ८ वर्ष विताएपछि उनलाई विदेशी पर्यटकलाई गाईडको रुपमा मात्र घुमाउने होइन अब पर्यटन व्यवसायमा पनि होमिएर सेवा गर्नुपर्छ भन्ने मनमा जाग्यो ।
सन् १९९८ देखि आफ्नै ट्रेकिङको कार्यलय खोलेर सेवा दिन थाले । युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि.बाट पर्यटन व्यवसायमा प्रवेश गरे सुवेदीलाई त्यहिँ कार्यालयको छविले टानको अध्यक्षजस्तो गरिमामय पदमा आसिन गराएको छ । ट्रिपल ए होलिडेज र ट्रिपल ए ट्रान्सपोट् कम्पनीका समेत प्रबन्ध निर्देशक रहेका सुवेदी सन् २००० बाट टानलाई नजिकबाट नियालीरहेका छन् । यसरी तीनवटै कम्पनीका प्रबन्ध निर्देशकको रुपमा रहेका सुवेदी २००७ देखि २००९ सम्म टानको कार्यसमितीमा अटाएका । टानको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी सम्हालेपछि अध्यक्ष भएका उनी टानको केन्द्रीय कार्यालय गैरिगाँउमा फोटोहरुको लस्करमा फोटो टास्न मात्र उदाएका होइनन् । भन्छन्, ‘यो मेरो दुई वर्षे कार्यकालमा केही उदाहरणीय कामहरु गर्नुछ । बोलेर अब गरेर देखाउने बेला आएको छ ।’ टान भित्र देखिएका तमाम समस्याहरुको आन्तरिक सुदृढ र पर्यटन क्षेत्रमा उनले देखेका सपनाहरु पूरा होउन् हाम्रो तर्फबाट पनि शुभकामना !
०००

#khum subedi #TAAN#खुम सुवेदी#युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि.# ट्रिपल ए होलिडेज्

Leave a Reply