अन्नपूर्णको आँगनमा किसाङको ‘गुरुङ कटेज’

0

किसम गुरुङ
प्रवन्ध निर्देशक गुरुङ कटेज
वारी अन्नपूर्ण पारी माछापुच्छ«े हिमालको शिर हेर्ने थलो हो, घान्द्रुकको गुरुङ कटेज । पहिला कुन हिमाल हेर्ने ? मनले दुबैलाई हेर्न खोज्छ । हिमाल हेर्न र घुम्न गएका पर्यटकहरु यहिँ गुरुङ कटेजमा बिसाएर मन अघाइन्जेल देखिएका जत्ति सबै चुचुराहरु हेर्छन् र मनको तिर्खा मेट्छन् । अन्नपूर्ण बेस क्याम्पको बीच बाटोमा पर्ने गुरुङ कटेजमा पर्यटकहरुको बेलुकीको बास त्यहिँ नै हुन्छ । अन्नपूर्णको आँगनमा पर्ने गुरुङ कटेजमा पर्यटकहरु बिहान बेलुकी हिमाल हेरेर नै अघाएका हुनकि जस्ता देखिने । बिहानीको घामको सुनौलो किरणले अन्नपुर्णलाई बेरेको हेर्न रुचाउने पर्यटकहरु भन्छन्, ‘गुरुङ कटेज नै अन्नपूर्णको आँगनमा छ जस्तो लाग्छ ।’
अन्नपूर्णको काख र आँगनको उपमा पाएको त्यो गुरुङ कटेजका मालिक हुन्, किसम गुरुङ । बेलायती सेना (गोरखा आर्मी) मा भर्ती हुन गएका गुरुङ दुर्भाग्य छनोटमा परेनन् । तर त्यही नै उनका लागि सौभाग्य बनिदियो । तालिम क्याम्पमा २९ दिनपछिको बसाइपश्चात् भएको छनौटमा उत्तीर्ण भएको भए सायद उनको जीवनको गति अर्कै हुँदो हो । अहिले उनी पेन्सन थापिरहेका हुन्थें । त्यही पेन्सनले जीवन घिसारिरहेका हुन्थें तर नाम निस्किएन् । र त स्थापना भयो गुरुङ कटेज ।

भर्तीले देखाइदिएको बाटो
भन्छन्,जीवन नियमले होइन संयोगले चल्छ । हो त्यही संयोगले नै उनको जीवनको नक्सा फे¥र्यो । अन्नपूर्ण गाउँपालिका–१० मा जन्मिएका हुन् किसम । कखरा गाउँमै विद्यालयबाट । बुबा मनेबहादुर गुरुङ र आमा धनसुभा गुरुङका एक्ला सन्तान । आजभन्दा ३५ बर्ष अघि पार लगाए एसएलसी तह । एसएलसी गरेपछि उच्च अध्ययन (१२ कक्षा) का लागि पोखरा झरे । पोखरामा प्लस टु तहसम्म पार लगाए र भर्ना भए स्नातक अध्ययनका लागि । त्यही क्रममा एक पटक गाउँ पुगे । स्नातक गरेर गाउँ पुगेका किसाङलाई परिवारबाट विवाहको दबाब आयो । तर, उनले मानेका थिएनन् ।
‘हाम्रो गुरुङ संस्कारमा मामा चेलो फुपु चेलोबीच विवाह चल्छ तर किसमको केही जागिर थिएन् । त्यही कारण हो मामाले आफ्नो छोरी दिनुभएन । भान्जाले ब्रिटिस आर्मीमा भर्ती खाएपछि दिउँला ।’ त्यस पछि उनले पढाइ नै छाडेर आर्मीमा भर्ती हुने बाचा गरे । गाउँबाट झोला बोकेर गोरखा भर्ती भिड्न उनीसँगै गएका साथी चने आर्मीमा भर्ती भए तर उनी असफल । आर्मीमा भर्ती हुन नसकेपछि जीवन अँध्यारो देखे । एक महिनाको तालिम केन्द्रको बसाइमा लागेको लागत खर्च तिरेर र निस्किए, निराशाको पोकोसहित ।
त्यतिबेला पल्टनमा भर्ती हुँदा वा फर्किँदा लाहुरेले काँधमाथि क्यासेट अनि टाउँकोमाथि कालो चस्मा भिरेर गाउँ घन्काउँदै प्रवेश गर्थे । त्यो देखेर बालक, वृद्धवृद्धा र सोल्टीनी (युवती) हरु लाम नै लागेर हेर्थे । तर, उनी रित्तो हात गाउँ फर्किएका थिए । त्यो जमाना यस्तै थियो । भन्छन् जीवनमा सबैथोक खानु तर हरेश नखानु । उनको मन हारेन् । गाउँ फर्किएपछि उनले कम्मर कसे, स्वदेशमै सुन फलाउछु । अनि बाटो मोडे ।

किसमको ‘गुरुङ कटेज’
विश्वका १३ देशमध्ये घान्द्रुक पनि एक पर्यटकीय स्थल हो । पोखराबाट करिब पाँच घन्टाको दुरीमा रहेको घान्द्रुक अहिले विश्वसामू परिचित स्थान हो । मौलिक गुरुङ बस्ती अनि त्यसको कुनामा अडिग अन्नपुर्णको उपस्थितिले वर्षेनी पर्यटकको मन तान्न सफल छ । अन्नपूर्णको काखमा लडिबुडी गरेका किसाङ कारणवश आर्मीमा भर्ती हुन असफल भएपछि उनले त्यहिँ ठाउँमा पर्यटकहरु बिसाउने बिसौना खोले, गुरुङ कटेज । अन्नपूर्ण बेशक्याम्प जाँदा, र्फकदा घान्दु्रकको गुरुङ कटेजमा नछिरी कसैको मन फर्किन मान्दैन ।
०५२ मा कटेज निर्माण गरेका किसाङ भन्छन्, ‘त्यतिबेला स्थापनाकालमा अहिलेजस्तो पर्यटकहरुका लागि सुविधासहितको गाँस, बाँस र कपासको व्यवस्था थिएन । होटल चलाउन औँधी दुःख थियो ।’ लाहुरे हुन नसकेपछि उनले गुरुङ कटेज चलाउने निधो गर्दा छिमेकीले अनेक कुरा काटे । हाम्रो रितै यस्तै छ यहाँ राम्रो काम गर्नैलाई समाजले खेद्छ । आफ्नाहरुले चेप्छन् । उनी पनि चेपाई र पेलानमा परे । तर वास्था गरेनन् । गाउँ फर्किएपछि उनी विवाह बन्धनमा बाँधिए । त्यसपछि झन् पारिवारिक जिम्मेवारी बढ्यो । दुई ज्यानसहित परिवार र कटेजपनि ।
फेरी उल्झन
किसम भन्छन्, ‘हामी जहाँ र जुन स्थानमा पुग्छौँ त्यहाँ परिवारको साथबिना अपूरो हुन्छ । कटेज बनाउन श्रीमतीले साथ दिइन् । दुवैजना मिलेर कटेज बनायौँ ।’ सुरु सुरुमा पर्यटकहरुको आगमन कमै हुने उक्त कटेजमा विस्तारै पर्यटकको चाप बढ्न थाल्यो । यसरी उनीहरुको कटेजमा विशेषगरी विदेशी पाहुनाको आगमन बढ्दै थियो । तर यो क्रम त्यति धेरैसम्म टिकेन । देशमा माओवादीको सशस्त्र द्धन्द्धले भर्खर चर्किएको थियो । माओवादीबाट आतंकित देशमा ज्यान धरापमा राखेर पर्यटकहरु घुम्न आँउछन कसरी ? सरकार र माओवादी पक्षबीच भएको भिडन्तको खबरले विदेशी पर्यटकहरु घुम्न आउने छाडे । र, किसमको फेरी दुःखको दिन सुरु भयो ।
जुवामा जित
जसरी जुवा खेल्दा हार जित हुन्छ त्यसरी नै उनले पनि त्यो समयमा त्यस्तै एउटा जुवा खेले । मनमा अनेकन पीर थियो । एक न एक दिन छक्का पल्टिन्छ भन्ने आशमा संघर्षरत उनी देशको मुहार फेरिने दिनको अपेक्षामा थिए । र, १० वर्षपछिको चर्काे द्धिपक्षीय भिडन्तपछि देशमा शान्ति छायो । यत्तिन्जेल उनले कटेजको आन्तरिक र बाह्य शृंगारको काम चिटिक्क पारेका थिए । मुलुकमा शान्ति स्थापना भएसँगै बिस्तारै पर्यटकहरु पनि बढ्न थाले । त्यतिबेला द्धन्द्धको समयमा मुसोचरा हिँड्न अप्ठेरो हुने त्यो भेगमा आज दैनिक करिब ६ सय भन्दा बढि पर्यटकहरु रमाउँछन् ।

किसम गुरुङ
प्रवन्ध निर्देशक गुरुङ कटेज

यात्रामा निरन्तर…
प्राकृतिक रुपले जति धनी छ घान्द्रुक मौलिक रुपमा त्योभन्दा बढी धनी छ । गुरुङ जातिको संस्कृति त्यहिँ पुगेर अघाइन्जेल नियाल्न पुग्ने पर्यटकहरु गुरुङ कटेजमै बसेर भोलिपल्ट गुरुङ बस्ती चहार्ने गर्दछन् । स्वदेशी तथा विदेशीहरुको मुखमा झुन्डिएको गुरुङ कटेजको सेवा सुविधामा पर्यटकहरुको कुनै गुनासो छैन । किसम भन्छन्, ‘लाहुरे नहुनु मेरा लागि पहिलो असफलता थियो भने दोस्रो सशस्त्र द्धन्द्ध । तर मैले व्यावसाय भएन भनेर चटक्कै छाडिन । निरन्तर आफ्नो यात्रामा हिँडिरहे ।’
गुरुङ कटेजको झ्यालबाट बिहान बाहिर चियाउँदा आँखासामू माछापुच्छ«े, गङ्गापूर्ण, हिमचुली, अन्नपूर्णलगायत हिमालहरु उभिएका हुन्छन् । कटेजबाट यस्ता लोभलाग्दो हिमचुली हेर्दा कतिपय पर्यटकले त बिहानको ब्रेकफास्ट नै बिर्सिएको रेकर्ड पनि सुनाउँछन् किसम । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानीअघि कास्कीको घान्द्रुक पर्यटकको पहिलो रोजाईमा पर्दछ । अहिले यहाँ बाह्यभन्दा पनि आन्तरिक पर्यटकहरु बढन थालेका छन् । हिमशृंखलासँगै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु मेश्रमवराह, तौजीवराह, पोज नेबवराह, कोटडाँडा, गुम्बा, ङयोवराह तालले पर्यटकहरुलाई घान्द्रुक तानिरहेको छ ।
घान्द्रुकको बिहानीको सूर्योदयसँगै देखिएका हिमश्रृखला, ग्रामीण बस्ती, गुरुङ संस्कृति, वनजंगल, मृगशावकको उफ्राईले पर्यटकको मन कहिल्यै अघाउँदैन । बिहानी उठ्नेवित्तिकै मुख नधोई पर्यटकहरु हिमशृंखला हेरेर मुख धोन्छन् । र, ढुङगाले कुदेर बनाइएका गुरुङ समुदायका घर र नजिकबाट देखिने अनपूर्ण र द्यौलागिरी हिमश्रृङखलाहरुको अनुपम दृश्यहरु नियाल्दै गुरुङ बस्ती डुल्न गर्दछन् । यसैकारण लोकप्रिय बनिरहेको छ, घान्द्रुक ।

अन्तमा…
आफू बेलायती सेनामा भर्ती नभएकोमा कुनै पछुतो मान्दैनन्,किसम । उनी बिहान उठ्नेवित्तिकै अन्नपुर्ण, माछापुच्छ«ेको हिमशृंखला हेरेरै मुख धोन्छन् । अनि कटेजमा आएका पाहुना र साथीभाईहरुसँग गफिन्छन् । घान्द्रुकको अझ मौलिकपनमा कसरी सुधार गर्न सकिन्छ भन्नेमा नै विशेष गफ हुन्छन् । हिमालको आफ्नै पाखोमा श्रम गरेर सबैभन्दा सुखी र धनी महशुस गर्ने किसम भन्छन्, ‘बिरामी पर्दा सिटामोल खानु परेको छैन । यहाकै झारपात र जडीबुटीले म स्वस्थ छु । पैसा कमाउनका लागि अरुका देशमा गुलामी गर्नुपरेको छैन, आफ्नै पाखोमा गरेको श्रमले आज इज्जतका साथ समाजमा प्रतिष्ठा आर्जन गरिरहेका छन् । परिवार पाल्न र सन्तानलाई पढाउन ऋण खोज्नुर्दैन ।’
अन्नपूर्णको आँगनमा बस्ने किसम आफ्नो सफलताको पछाडी श्रीमती, परिवार र साथीहरुको सहयोग अमूल्य रहेको सुनाउँछन् । उनी सबप्रति एकमुष्ठ कृतज्ञता व्यक्त गर्दछन्, ‘सबैको साथ र सहयोगले नै मेरो आज मेरो परिचय बन्न सफल भएको छ ।’ किसमको संर्घषको किस्सा
आखिर श्रम र पसिना बगाउने हो भने यही माटोमा सुन फलाउँन सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् किसम । किसा युवा पुस्ताले पाठ सिक्ने र स्वदेशमै श्रम पसिना बगाउने प्रेरणा

Leave a Reply